PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

चुनावको प्रतिवद्धता पूरा, मेलम्चीमा फ्री वाइफाई र नगरबस सञ्चालनमा



पहिलोपोस्ट

चुनावको प्रतिवद्धता पूरा, मेलम्चीमा फ्री वाइफाई र नगरबस सञ्चालनमा

मेलम्ची: सिन्धुपाल्चोक जिल्लाको मुख्य केन्द्र रहेको मेलम्ची नगरपालिकामा फ्री वाइफाई र नगरबस सञ्चालन भएको छ।

मेलम्ची क्षेत्रमा सञ्चालन हुने मुख्य दुईवटा यातायात समिति – आमा ह्याल्मो र हेलम्बु यातायात समितिसँग समन्वय गरेर बुधवार साँझ ५ बजेदेखि चारवटा बस सञ्चालन गरिएको हो।

मेलम्ची बजारमा रहेको आमा ह्याल्मो बसपार्कलाई मुख्य केन्द्र बनाएर नगरपालिकाको शिखरपुर, तिपेनी, भोटेचौर र तालामाराङसम्म नगरबस जाने मेलम्ची नगरपालिकाका कार्यकारी अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए।

तत्कालका लागि यातायात समितिले नै चलेको भाडादर कायम गर्ने तथा एक हप्तापछि नगरपालिका र यातायात समितिको निर्णयमा नयाँ भाडादर कायम हुने नगरपालिकाले जनाएको छ।

त्यसैगरी, मेलम्ची नगरपालिकाभित्र निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत ६ स्थानमा फ्री वाइफाई जडान गरिएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान)सँगको समन्वयमा वाइफाई जडान गरिएको हो। मानिसको भीडभाड हुने चोक, अस्पताल, बैंक, सरकारी तथा गैरसरकारी संस्थालगायतका स्थानमा वाइफाई जडान गरिएको हो।

महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष प्रभात श्रेष्ठले नगरमा एक एमबीका ३० वटा राउटर र आवश्यक डिभाइस जडान गरिएको बताए। स्थानीय तहको निर्वाचन अघिको मुख्य नारा रहेको ‘फ्री वाइफाई’लाई अहिले नवनिर्वाचित जनप्रतिनिधिले नमुना कामको सुरुवात गरेको मेलम्ची नगरपालिकाका स्थानीयवासी रामहरि दुलालले बताए।

नगरपालिका भित्रका स्थानीयवासीलाई सुविधा दिने उद्देश्यले बिहान १० बजेभित्र चारवटै केन्द्रबाट मेलम्ची बसपार्क आइपुग्ने गरी नगरबस सञ्चालनमा ल्याएकाले सर्वसाधारणलाई निकै ठूलो सेवा पुग्ने नगरवासी बताउँछन्।

बुधबार एक औपचारिक कार्यक्रममार्फत निर्वाचन क्षेत्र नं ३ का सांसद् शेरबहादुर तामाङ र मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले नगरबस र फ्री वाइफाईको संयुक्तरुपमा उद्घाटन गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell