रोल्पाः हरेक पटकको निर्वाचनमा विशेष चर्चाको शिखरमा रहँदै आएको रोल्पाको थवाङले यसपटक पनि धेरैको ध्यान खिच्न सफल भएको छ।
यसअघिका निर्वाचनमा कहिले शून्य मतदान त कहिले पूर्ण मतदान गर्दै चर्चा बटुल्ने थवाङले यसपटक भने नेपाली कांग्रेससँग तालमेल गरी दिएको स्वतन्त्र उम्मेदवारीले विशेष चर्चा पाएको हो।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रभाव क्षेत्र मानिने थवाङले यस पटकको निर्वाचनमा के गर्छ भन्ने धेरैको जिज्ञासालाई अन्तिममा आएर कांग्रेससँग तालमेल गरी जवाफ दिएको छ।
सो गाउँपालिकामा नेपाली कांग्रेस र स्वतन्त्रको रुपमा नेकपाका साझा उम्मेदवार अमित घर्तीमगरले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसका श्रीकुमारी रोका प्रतिस्पर्धामा उत्रिएकी छिन् ।
गाउँपालिकामा नेकपा माओवादी केन्द्रले वीरबहादुर घर्तीलाई अध्यक्ष र रामकिरणी रोकालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ। निर्वाचन नजिकिँदै गर्दा स्वतन्त्र उम्मेदवार चुनावी प्रचार प्रसारमा तीव्रताका साथ लागेको बताइन्छ। रासस