
श्रीनगरः भारत प्रशासित काश्मिरमा बिहीबार बिहानै सुरक्षा फौजसँग हतियारधारी समूहबीच भीषण भिडन्त भएको छ।
भिडन्तमा कम्तीमा पनि तीन जना हतियारधारीको मृत्यु भएको छ। अरु कैयौँ घाइते भएका जनाइएको छ। भारत प्रशासित काश्मिरमा पछिल्ला केही दिनयता तनाव बढेको छ।
काश्मिरको पुल्वामा जिल्लाको काकापोला गाउँमा बिहीबार बिहानीपख गस्तीमा खटिएका सरकारी सुरक्षाकर्मीहरुसँग भिडन्त भएको भारतीय प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अुनसार भिडन्तका कारण घाइते भएका केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल भर्ना गरेको छ।
मारिनेमा हतियारधारीहरु लस्कर ए तोएबा नामक सशस्त्र सङ्गठनमाआबद्ध रहेका बताइएको छ। यसअघि पनि गतहप्तामात्र सोही क्षेत्रमा भएको यस्तै भिडन्तमा परी उक्त संगठनका एकजना कमाण्डरको ज्यान गएको भारतीय प्रहरीले जनाएको थियो।
श्रीनगरबाट करिब ५० किलोमीटर दक्षिणमा पर्ने सो गाउँमा भारतीय सेना र प्रहरीको संयुक्त टोली गस्तीमा रहेको समयमा सशस्त्र समूहले प्रहरीमाथि नै गोली चलाएको थियो। त्यसमा परी ती हतियारधारी मारिएका हुन्।
काश्मिरमा गत आइतबार मात्र पनि बन्दुकधारी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो।रासस/एएफपी