भीमदत्तनगरः कञ्चनपुरका नौवटा स्थानीय तहको निर्वाचनमा सातजना महिला प्रमुख पद हात पार्न चुनावी मैदानमा उत्रिएका छन्।
दुई नगरपालिका र सात गाउँपालिका रहेको कञ्चनपुरमा चारवटा नगरपालिकाको प्रमुख पदमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएर महिला नेतृहरु चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।
कञ्चनपुरमा साङ्गठनिक रुपमा कमजोर देखिएका दलहरुले महिलालाई प्रमुख पदमा टिकट दिएरअघि सारेपनि प्रमुख दलहरुले पनि प्रायः सबै तहमा महिला उम्मेदवारलाई उपप्रमुख र उपाध्यक्ष पदमा सीमित राखेका छन्।
भीमदत्तनगरपालिकाको प्रमुख पदमा राष्ट्रिय जनमोर्चाले मञ्जु दमाईंलाई प्रमुख पदमा उठाएको छ। त्यसैगरी, नेकपा मालेबाट पनि भीमदत्तनगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार धौलीदेवी मल्ल सिंहले उम्मेदवारी दिएर चुनावी माहोल तताइरहेकी छन्।
त्यसैगरी, नयाँ शक्ति पार्टी नेपालले भीमदत्तनगरमा महिला नेतृ माया नेगीलाई प्रमुख पदको उम्मेदवार बनाएको छ। महाकाली नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले नन्दा खत्रीलाई प्रमुख पदमा उतारेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्लाफाँटा नगरपालिकामा कलावतीदेवी ऐर प्रमुखको उम्मेदवार बनाएको छ।
शुक्लाफाँटा नगरपालिकामै नयाँ शक्ति पार्टीले कमला भट्टलाई प्रमुख पदको उम्मेदवार बनाएको छ। नयाँ शक्तिले पुनर्वास नगरपालिकामा सत्यादेवी चापागार्इंलाई प्रमुख पदको उम्मेदवार बनाएको छ। प्रमुख पदमा महिला उम्मेदवार बनाउने दलमा नयाँ शक्ति पार्टी अग्रस्थानमा देखिएको छ।
नयाँ शक्ति पार्टीबाट भीमदत्त नगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहेकी माया नेगीले भीमदत्तमा पार्टीको सङ्गठन कमजोर रहे पनि मतदाता नयाँ शक्तिप्रति आकर्षित भएका बताइन्।
कांग्रेस, एमाले र माओवादी केन्द्रको सङ्गठन जिल्लामा बलियो रहेकाले साना दलहरुबाट प्रमुख पदको टिकट पाए पनि महिला उम्मेदवारलाई निर्वाचनमा विजयी हासिल गर्न भने सहज देखिँदैन। रासस