काठमाडौँ : दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। सम्बन्धित पदमा एकभन्दा बढीको उम्मेदवारी नै नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन आयोगले प्रारम्भिक भन्दै सार्वजनिक गरेले तथ्यांक भएकाले निर्विरोध संख्या थप हुन सक्ने जनाएको छ।
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भने, 'प्रदेश नम्बर १ मा १२, प्रदेश नम्बर ५ मा १२ र प्रदेश नम्बर ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको छ।'
सचिव मैनालीले बझाङ जिल्लाको काँडा गाउपालिका वडा नम्बर ५ मा धनन्जय बोहोरा निर्विरोध निर्वाचित भएको जानकारी दिए। उनले बोहरा कुन पार्टीकोतर्फबाट निर्वाचित भएको भन्नेबार भने खुलाएनन्।
'बाँकी निर्विरोध निर्वाचित भएका ३७ सदस्य मध्ये २४ जना दलित महिला सदस्य हुनुहुन्छ,' सचिव मैनालीले भने।
तीनवटै प्रदेशका विभिन्न १५ जिल्लाबाट निर्विरोध निर्वाचित हुनेहरु मध्ये नेपाली काँग्रेसकातर्फबाट १४, नेकपा एमालेकातर्फबाट १४ र नेकपा माओवादी केन्द्रकातर्फबाट १० जना छन्।
यही असार १४ गते हुने निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुने छ।
दोस्रो चरणको निर्वाचन १ महानगर पालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाउपालिका गरी ३३४ स्थानीय तहमा हुदैछ। तीनवटा पदेशमा हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताको सहभागी हुनेछन्।
दोस्रो चरणको निर्वाचनका लागि ४५८१ मतदान स्थल, ८३६४ मतदान केन्द्र कायम गरिएको छ। दोस्रो चरणको निर्वाचनका लागि ६६ हजार ९०० कर्मचारी खटाएको छ भने ६ हजार सात सय १७ पर्यवेक्षकलाई अनुगमनका लागि आयोगले अनुमति दिएको छ।