PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

निर्वाचन आयोगले भन्यो -तेस्रो चरणमा पनि राजपालाई नयाँ निर्वाचन चिह्न दिन सकिन्न



रमेश वाग्ले

निर्वाचन आयोगले भन्यो -तेस्रो चरणमा पनि राजपालाई नयाँ निर्वाचन चिह्न दिन सकिन्न

काठमाडौं : निर्वाचन आयोगले तेस्रो चरणको निर्वाचनमा पनि राष्ट्रिय जनता पार्टीलाई उसले रोजेको नयाँ चुनाव चिह्न दिन नसकिने बताएको छ। 

आयोगले एकैपटक सबै प्रदेशलाई पुग्ने गरी मतपत्र छापिसकेको भन्दै तीन महिनापछि असोजमा चुनाव हुन लागे पनि फेरि मतपत्र छाप्ने र नयाँ चुनाव चिह्न प्रदान गर्न नसक्ने बताएको हो। 

आयोगले 'राजपा माने प्रदेश नम्बर-२ मा नयाँ मतपत्र' शीर्षकमा चाँडै सहमति भए राजपालाई छाता चिह्न दिन सकिने भन्दै आएका समाचारको खण्डन गर्दै बिहीबार विज्ञप्ति समेत जारी गरेको छ। 

आयोगले विज्ञप्तिमा त्यस्ता विषयमा कुनै छलफल समेत नभएको भन्दै उच्च स्रोतको हवला दिँदै आएको समाचार सरासर गलत भएको बताएको छ।

सरकारले राष्ट्रिय जनता पार्टीलाई नै मनाउनका लागि प्रदेश नम्बर दुईको निर्वाचन तीन महिना पछि सारेपनि आयोगले भने सारिएको मितिमा पनि अहिलेकै व्यवस्था अनुरुप निर्वाचन गर्ने बताएको हो।

'पहिलो कुरा त आजका दिनसम्म राजपा दर्ता प्रक्रियामै आइसकेको छैन। त्यसैले राजपा भन्ने दललाई के गर्ने भन्ने बहस गर्नु नै औचित्यपूर्ण छैन,' आयोगका प्रवक्ता गोपीनाथ मैनालीले भने, 'त्यसैले चुनाव चिह्न दिने भन्दै आएका समाचारको खण्डन गरिएको हो।'

सचिव मैनालीले विभिन्न कारणले अर्को मतपत्र छाप्ने र राजपालाई चुनाव चिह्न दिने विषयमा आयोगले निर्णय लिन नसक्ने बताए। 

'पहिलो कुरा त अहिले दुई नम्बर प्रदेशका जिल्लाका लागि समेत मतपत्र छापिइसकेकाले ती मतपत्र नस्ट गर्ने गरी अर्को मतपत्र छाप्ने निर्णय आयोगले गर्न सक्दैन,' सचिव मैनालीले भने, 'दोस्रो कुरा त्यति नै नयाँ मत पत्र छाप्नका लागि करोडौ रुपैंया खर्च हुन्छ। छपाई, ढुवानी, सुरक्षा र अहिले रहेका नस्ट गर्दा राज्यकोषमा ठूलै असर पुग्ने गरी थप खर्च हुन्छ।'

उनले त्यही कारण आयोगले राष्ट्रलाई घाटा हुने निर्णय राजपा दर्ता प्रक्रियामा आएपछि पनि गर्न नसक्ने बताए। 

'हुन त नेपाल सरकारले आयोगलाई थप खर्च दिएर राजनीतिक निर्णय लिन सक्छ,' सचिव मैनालीले भने, 'तर त्यो निर्णय राष्ट्रहितमा हुँदैन। त्यस्तो निर्णयले राज्यकोषमा ठूलो क्षति हुनसक्छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell