
चितवन: नारायणगढ–मुग्लिन सडकमा मध्यरातमा पहिरो प्रहरी भ्यान र एक ट्रक पुरिएको छ। खडकको कालीखोला खण्डको पहिरोमा परेको ट्रकको केही भाग देखिएको छ। प्रहरी भ्यान भने अझै भेटिएको छैन। अनुगमनमा गएर फर्किदै गरेको भ्यानमा सवार चारमध्ये दुई जनाको शव भेटिएको छ। अन्य दुई प्रहरी जवान अझै बेपत्ता छन्।
मृत्यु हुनेमा ईलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरी सहायक निरीक्षक धादिङ खनियाबास ४ का निश्चलकुमार तामाङ र प्रहरी जवान बारा हरैया ६ का दीपक मास्के रहेका छन्को। प्रहरी जवान लीलबहादुर चेपाङ र सन्दिप कार्की बेपत्ता छन्।
मध्यरातमा नै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको टोली घटनास्थल पुगेको थियो। शुक्रबार रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी छ। पहिरो गएको स्थानबाट भरतपुरसम्म गाडीको लाइन लागेको छ। पहिरोका कारण यात्रुहरु त्रासमा छन्। प्रहरीले यात्रुलाई सुरक्षा सतर्कता अपनाउन भनेको छ। साथै तत्काल खडक सञ्चालनमा नआउने भन्दै वैलल्पिक मार्ग अपनाउन आग्रह गरेको छ।