PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बुटवल उपमहानगरको मेयरमा राज : खेलराज कि शिवराज? 



चन्द्रकान्त खनाल

बुटवल उपमहानगरको मेयरमा राज : खेलराज कि शिवराज? 

रुपन्देहीः गर्मीले जसरी पारो चढाएको छ त्योभन्दा बढी त बुटवलमा चुनावी तापक्रम माथि छ। पाँच नम्बर प्रदेशको राजधानी हुनसक्ने बुटवल उपमहानगरको नेतृत्व गर्न दलहरू कोही गठबन्धन गरेर चुनावमा होमिएका छन् भने कोही गठबन्धनविरुद्ध एक्लै भिडिरहेका छन्।

रुपेन्देहीको क्षेत्र नम्बर ४ मा पर्ने बुटवल उपमहानगरमा संविधानसभाका दुवै चुनावमा एमालेले बाजी मारेको थियो। यो क्षेत्रबाट एमालेका उपमहासचिव विष्णु पौडेल दुवै चुनावमा कांग्रेस उम्मेदवारलाई हराएर निर्वाचित भएका थिए। 

पहिलो संविधानसभामा उनले कांग्रेस उम्मेदवार भन्दा ३ हजार बढी मत ल्याएका थिए भने दोस्रो चुनावमा त करिब ७ हजार बढी मत ल्याएर विजयी बनेका थिए।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई पनि यही क्षेत्रबाट लडेका थिए। एसएलसीमा बोर्ड फस्ट भट्टराई यहाँको मत परिणाममा भने थर्ड हुन पुगेका थिए।

पहिलो र तेश्रो संसदीय निर्वाचन तथा पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जितेको रुपन्देहीको क्षेत्र नं ४ र तत्कालीन बुटवल नगरपालिका त्यसयता नेकपा एमालेको पकडमा रहँदै आएको छ।

विशेष गरी पश्चिम क्षेत्रको व्यापारिक, आर्थिक र शैक्षिक केन्द्रको रुपमा रहेको बुटवल राजनीतिक केन्द्रका रुपमा समेत स्थापित हुँदै आएको छ। 
६६ हजार ८ सय ४३ मतदाता र १९ वडा रहेको बुटवल उपमहानगरपालिकालाई नेकपा एमालेले आफ्नो किल्ला मान्दै आएको छ। 
एमालेको किल्ला भत्काउनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचमा गठबन्धन तयार भएपछि एमालेलाई आफ्नो वर्चश्व कायम राख्न दवाव परेको छ।

एमालेको पकडमा रहंदै आएको बुटवललाई आफ्नो पकडमा पार्ने रणनीति नेपाली कांग्रेसको छ। 

त्यसैले उसले मेयर आफूले लिएर माओवादी केन्द्रलाई उपमेयर दिँदै चुनावी तालमेल गरेको छ।

दोश्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले पाएको मत एमालेको भन्दा झण्डै ५ हजार बढी भएकाले अहिले ती सबै मत पाउने कांग्रेसको अंकगणित हो।

तर, दोश्रो संविधानसभा निर्वाचनपछि माओवादीमा आएको विभाजन र जिल्लास्तरमा प्रभावशाली मानिने केही नेताहरुले माओवादी परित्याग गरेपछि भोटर घटेको हल्ला गरे पनि माओवादीले अस्वीकार गरेको छ।

कांग्रेसले उपमेयरमा माओवादी केन्द्रका जगतबहादुर पोखरेललाई उठाएर मेयरमा नगर सभापति खेलराज पाण्डेयलाई उभ्याएको छ भने केही वडामा जनमुक्तिसँग साझेदारी गरेको छ। 

यो गठबन्धनबिरुद्ध एमालेले मेयरमा आफ्ना शिवराज सुवेदी र उपमेयरमा गोमा आचार्यलाई अगाडि सारेको छ।

कांग्रेसका खेलराजको के हो राज?

स्याङ्जाको तत्कालीन आलमदेवी गाउँ विकास समिति कोटाकोटमा २०२६ सालमा लीलाबल्लभ पाण्डेय र माता तारादेवी पाण्डेयका सन्तानका रुपमा यिनको जन्म भएको हो। पाण्डेय २०४६ सालयता बुटवलमा बसोवास गर्दै आएका छन्।

स्नातक तहसम्मको अध्ययन पूरा गरेका पाण्डेय नेपाल विद्यार्थी संघको जिम्मेवारीबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। २०३९ सालमा आदर्श मावि कोटाकोटमा नेविसंघको सदस्यता लिएर राजनीति सुरु गरेका पाण्डेय २०४४ सालमा अमृत साइन्स क्याम्पसको नेविसंघको सहसचिव थिए।

२०४६ सालमा रुपन्देही आएपछि उनको विद्यार्थी राजनीति यात्रा झनै फराकिलो बन्यो। २०४७ सालमा बुटवल बहुमुखी क्याम्पस नेविसंघ उपसभापति, २०५२ सालमा नेविसंघ रुपन्देही सचिव, २०५९ सालमा तरुण दल रुपन्देही जिल्ला अध्यक्ष र २०६० सालमा तरुण दल केन्द्रीय सदस्य हुँदै २०६७ सालदेखि अहिलेसम्म नेपाली कांग्रेस बुटवल नगर सभापति रहेका छन्।

२०७२ मा सरकारले बुटवल नगरविकास समिति सभापति बनाएपछि उनीसँग बुटवलको विकासमा राजनीतिक, आर्थिक र सामाजिक नाता जोडिन पुग्यो। नेपाली कांग्रेसका पूर्णकालीन कार्यकर्ता खेलराजले राजनीतिलाई आफ्नो अहिलेसम्मको लगानी खर्च गरेको बताउँछन् ।

वीपी कोइरालाका पुस्तकहरुको अध्ययनबाट प्रभावित भएपछि नेपाली कांग्रेसको राजनीतिमा लागेका पाण्डेयले कांग्रेस भित्रपनि लोभलालचरहीत, सामान्य परिवार, सरल र प्रष्ट वक्ताको रुपमा आफूलाई प्रस्तुत गर्ने गरेका छन्। 

बिहानदेखि साँझसम्म सर्वसाधारणको समस्या समाधानमै समय बिताउने पाण्डेयले बुटवलका हरेक गल्ली तथा चोकचोकमा हिँडेरै नागरिकका दुःख सुखमा सहभागी हुने गरेको बताउँछन्।

नेपाली कांग्रेसका मतदातासँगै माओवादी केन्द्रसँगको सहकार्यपछि माओवादी केन्द्रको मत पनि आफूले पाउने भएकोले अंक गणितको आधारमा पनि यसपटक आफू जित्ने दावी गर्छन् ।

एमाले उम्मेदवार शिवराज सुवेदीको यस्तो छ राज

मजदुर आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका सुवेदीले गएको असोज महिनाबाट रुपन्देही एमालेको नेतृत्व सम्हाल्दै आएका छन्। २०२० सालमा कास्कीको हंसपुरमा बालुमाया सुवेदी र केदारनाथ सुवेदीका पुत्रका रुपमा जन्मिएका सुवेदीले प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेका छन्।

अध्ययनकै क्रममा विद्यार्थी राजनीतिमा लागेपछि भूमिगत हुनु परेका कारण सुवेदीले त्यो भन्दा माथिको अध्ययन पूरा गर्न पाएनन्।
२०३५ सालमा नवलपरासीको वर्दघाटस्थित दाउन्नेदेवी माविमा अनेरास्ववियुको संस्थापक बनेका सुवेदी २०३८ सालमा कास्की जिल्ला कोषाध्यक्ष बने। २०३८ सालमा तत्कालिन मालेको सम्पर्कमा आइ पोखरा नगर युथ लिग सदस्य भएका सुवेदी त्यसयता नेपाल स्वतन्त्र मजदुर युनियनको जिल्ला प्रवक्ता, २०४८ सालमा जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कमिटीको सहसचिव बन्न सफल भए।

२०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन बुटवल नगरपालिकाको वडा नं ९ को सदस्यको रुपमा निर्वाचित सुवेदी त्यसबेला निर्वाचनमा सदस्यको रुपमा निर्विरोध निर्वाचित भए। 

बलियो संगठन, इमान्दार र जुझारु कार्यकर्ता रहेका कारण आफुले जित्ने दावी सुवेदीको छ।

त्यसैगरी, प्रदेश नं ५ विभाजन गर्ने प्रस्तावबिरुद्ध एमालेले निर्णय र एमालेकै नेतृत्वमा सम्पन्न भएका विकास निर्माणका योजनाका कारण अहिलेको निर्वाचनमा आफूले जित्ने दावी सुवेदीको छ।

विगतको परिणाम यस्तो

बुटवल उपमहानगरपालिकाको चुनावमा मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै हुन्। २०४९ मा कांग्रेसले मेयर उपमेयरसहित १२ वटा वडा जितेको थियो। त्यतिखेर तत्कालीन बुटवल नगरमा एमाले ३ वटा वडामा मात्रै विजयी भएको थियो। 

२०४९ मा कांग्रेसबाट मेयरमा सूर्यप्रसाद प्रधान र उपमेयरमा रामप्रसाद खनाल विजयी भएका थिए। कांग्रेसले २०४९ को स्थानीय निकायको चुनावमा जसरी बुटवलमा विजयी हासिल गर्योे त्यसलाई एमालेले २०५४ मा उल्ट्यायो। यतिसम्म कि कांग्रेसलाई झन्डै शून्यकै हाराहारीमा पुर्याएर एमालेले मेयर र उपमेयरसहित १२ वटा वडामा विजय हासिल गरेको थियो।

त्यतिखेर २ वडा मात्रै कांग्रेसले जितेको थियो। एक वडा भने स्वतन्त्र उम्मेदवारले जितेका थिए। २०५४ सालमा एमालेबाट भोजप्रसाद श्रेष्ठ मेयर र विमलबहादुर शाक्य उपमेयरमा विजयी भएका थिए। २०५४ यता स्थानीय निकायको चुनाव भएन। 

तर, पछिल्लो पटक भएको संविधानसभाको चुनावमा पनि नेकपा एमालेले आफ्नो विजयी यात्रालाई कायम राखेको छ। उता नेपाली काग्रेसले पनि आफनो भोट यथावत रहेका र माओवादी तथा अन्यको भोटको कारणले एमालेलाई सजिलै जित्न सकिने बताएको छ।

तर, अहिले बुटवलमा स्थानीय तहको चुनाव भएकाले पहिलेको क्षेत्रका ठाउँ भने हेरफेर भएका छन्। निर्वाचन क्षेत्र नम्बर ४ मा रहेको साविकको मुर्गिया बुटवल उपमहानगरमा परेको छ जहाँ एमालेले आफ्नो गढ मान्दै आएको  थियो।

कुन वडामा को बलियो ?

१९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा दलहरुले आफ्नै पार्टीको पकेट रहेको दावी गरेका छन्। उनीहरुको दावी अनुसार सबैले पूरै वडा जित्ने बताउँछन्। 

तर, बुटवलमा विगतको चुनावको परिणामलाई आधार मान्दा सबैभन्दा बलियो एमाले देखिन्छ। १३ वटा वडामा एमालेले आफू बलियो रहेको बताएको छ। 

कांग्रेसले पनि त्यति नै हाराहारीमा बलियो भएको बताएको छ। माओवादी केन्द्रलेसमेत ६ वटा वडामा आफ्नो पार्टी बलियो रहेको दावी गरेको छ। सबैभन्दा बढी ११ वडामा ११ हजार ६ सय ५० मतदाता छन्। जुन वडामा सुकुम्बासीको भोट बढी छ। बुटवल उपमहानगरपालिकामा ६६ हजार ९० मतदाता रहेका छन्।

केन्द्रीय नेताको चासो

बुटवल उपमहानगर दोस्रो चरणमा हुने स्थानीय तहको चुनावको मुख्य भागमा पर्दैछ। सबै पार्टीले बुटवलको चुनावलाई विशेष महत्व दिएका छन्। एमालेले आफ्नो अस्तित्व रक्षा कसरी गर्ने भन्ने उद्देश्यका साथमा लागिपरेको छ भने अन्य पार्टीहरु एमालेको किल्ला तोड्ने अभियानमा लागि परेका छन्। बुटवलमा केही दिनदेखि एमाले, कांग्रेस र माओवादी केन्द्रका केन्द्रीय नेताहरु आउनेक्रम जारी छ।

एमाले उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेले आफ्ना उम्मेदवारहरूलाई जिताउन एक हप्तादेखि रूपन्देहीका विभिन्न चुनावी सभामा सहभागी छन्। कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, बरिष्ठ नेता रामचन्द्र पौडेल, अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारी चुनावी सभामा सहभागी भइसकेका छन्। माओवादी केन्द्रका टोपबहादुर रायमाझी, चन्द्रप्रकाश खनाल, माधव शर्मालगायत बुटवलको चुनावी सभामा सहभागी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell