
हङकङः चिनियाँ राष्ट्रपति सि जिनपिङ अर्को साता हङ्कङ भ्रमण गर्न लागेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
हङकङ बेलायतले चीनलाई हस्तान्तरण गरेको आगामी हप्ता २० बर्ष पुग्न लागेको अवसर पारेर चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लागेका हुन्।
यो समाचार सार्वजनिक गरिएको भएपनि उनले हङ्कङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरुले भने केही बताएका छैनन्।
उनी सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङ्कङ भ्रमण हो। चिनियाँ पत्रिका द साउथ चाइना मोर्निङ पोष्टले उनको हङ्कङ भ्रमण निश्चित भएको समाचार शुक्रबार छापेको छ।
समाचारमा एकजना सरकारी अधिकारीलाई उदृत गरिएको भएपनि ती अधिकारीको नाम भने खुलाइएको छैन। त्यसैले पनि उक्त समाचारको विश्वसनीयताको प्रश्न उठाइएको छ।
हङ्कङमा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ। सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको मात्र नभई हङ्कङका नागरिकमा यसका कारण निराशा छाएको पनि बताउँदै आइएको छ।
प्रदर्शनकारीले हङ्कङ हस्तान्तरण गरिएको समयको अवसर पारेर प्रदर्शनको तयारी पनि गरेका छन्। त्यसैले पनि उनको भ्रमणको समयमा ठूलो मात्रामा सुरक्षा दिनुपर्ने अवस्था रहेको पनि विश्लेषकहरु बताउँछन्। रासस/एएफपी