कञ्चनपुरः कञ्चनपुरका ६६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले भारतसँग सीमा जोडिएका मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको छ।
सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी त्यसैअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक भरतबहादुर दाहालले जानकारी दिए।
उनका अनुसार १३२ मतदानस्थलमध्ये ६६ लाई अतिसंवेदनशील, २६ लाई संवेदनशील र ४० लाई सामान्यको सूचीमा राखिएको छ।
भारतसँग सीमा जोडिएका महाकाली नगरपालिका, बेलडाँडी गाउँपालिका, भीमदत्तनगरपालिका, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका अधिकांश मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ।
आपराधिक गतविधि हुन सक्ने सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएका मतदानस्थल संवेदनशील क्षेत्रका रुपमा रहेका छन्।
मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन तीन तहको सुरक्षा घेराको निर्माणको योजना अघि सारिएको छ।
जसमा मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई खटाइने व्यवस्था गरिएको छ। रासस