विराटनगरः मतदानको मिति नजकिँदै गर्दा मोरङमा उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
मोरङको एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहका विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले आ–आफ्ना कार्यकर्ताका साथ चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन्।
प्रत्येक उम्मेदवारले विकास निर्माण, सरसफाइ, नगर तथा गाउँलाई हराभरा बनाउने, जनताको काम छिटो छरितो गर्नेलगायतका नारा दिएर मतदातालाई आकर्षित पार्न घरदैलो, चुनावीसभा, कोणसभालगायतका कार्यमा जुटेका छन्।
विराटनगर महानगरपालिकामा चुनावी सभा, र्यालीका साथै घरदैलो कार्यक्रममा सक्रिय विभिन्न राजनीतिक दलले आ–आफ्ना योजनाका साथ मतदाताको मन जित्न लागिपरेका छन्।
महानगरपालिको निर्वाचनमा नेपाली कांग्रेस र राप्रपा एकल रुपमा निर्वाचनमा सहभागी भएका छन् भने प्रमुख र उपप्रमुख पदका लागि नेकपा एमाले र लोकतान्त्रिक फोरम नेपाल संयुक्त रुपमा चुनावी मैदानमा छन्।
यस्तै, प्रमुख र उपप्रमुख पदका लागि सङ्घीय समाजवादी फोरम नेपाल र नेकपा माओवादी केन्द्र संयुक्त रुपमा चुनावी मैदानमा उत्रेका छन्। यी चार पार्टीबीच भएका गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना छ।
नेपाली कांग्रेसले कुनैपनि दलसँग गठबन्धन नगरी प्रमुख, उपप्रमुखलगायत महानगरको १९ वटै वडाका अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएको छ। अन्य दलले पनि सोही अनुरुप वडामा उम्मेदवारी दर्ता गराएका हुन्।
पार्टीको अवस्था मजबुत रहेका कारण कुनैपनि दलसँग गठबन्धन नगरेको नेपाली कांग्रेसका नेताहरु बताउँछन्।
एक लाख १४ हजार मतदाता रहेको विराटनगरमा स्थानीय तहको निर्वाचनमा पार्टीगत आधार भन्दा स्थानीय समस्या, उम्मेदवारको आचरणले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै जातीय, क्षेत्रीय र भाषिकलगायतका विषयले पनि महत्वपूर्ण प्रभाव पार्नेछ। रासस