
मोरङः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले भ्रष्टाचारको अन्त्य नभएसम्म देशको विकास हुन नसक्ने बताएका छन्।
नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपालले उर्लाबारीमा आयोजना गरेका संयुक्त चुनावी सभालाई सम्वोधन गर्दै भट्टराईले विकास निर्माणको क्षेत्रमा ७० देखि ८० प्रतिशतसम्म भ्रष्टाचार हुने गरेकाले त्यसको अन्त्य गर्नु नै आफ्नो पार्टीको लक्ष्य रहेको बताए।
भट्टराईले आर्थिक विकास नगरी गरिबी र बेरोजगारी अन्त्य गर्न नसकिने भएकाले आफ्नो पार्टीले अवको दुई दशकसम्म आर्थिक समृद्धिको अभियान चलाउने बताए।
उनले निर्वाचन पनि एक प्रकारको युद्ध भएकाले निर्वाचनको अभियानमा हिम्मतकासाथ लागिपर्न कार्यकर्तालाई निर्देशन दिए। रासस