PahiloPost

Nov 15, 2024 | ३० कात्तिक २०८१

मेलम्चीको पानी आएसँगै राजधानीमा डुबानको जोखिम



उमेश पौडेल

मेलम्चीको पानी आएसँगै राजधानीमा डुबानको जोखिम

काठमाडौं : पर्याप्त पिउने पानी अभावमा काकाकुल बनेको काठमाडौं मेलम्ची पानीको व्यग्र पर्खाइमा छ। तर, मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं भित्रिएसँगै यसले उपत्यकाका नदी किनार आसपास एवं केही गहिरो क्षेत्रमा बढ्ने डुबानको जोखिम तर्फ भने धेरैको ध्यान पुगेको छैन। मेलम्चीको पानी काठमाडौं भित्रिने समय नजिक आइसक्दा पनि सम्बद्ध निकाय ढल व्यवस्थापनमा गम्भीर नहुँदा डुबानको जोखिम बढेको हो।

पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका भित्रिनेछ। जस कारण उपत्यकाका खोला तथा नदीमा पानीको बहाव स्वतः बढ्ने जानकारहरु बताउँछन्। उपत्यकाको ढललाई व्यवस्थित पार्ने जिम्मेवारी खानेपानी तथा ढल निकास विभाग, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको हो।

तर, अहिले यी संस्थाको मेलम्चीको पानी कसरी काठमाडौंका धारामा झार्ने भन्ने मात्र छ। पानी आउँदा बढ्ने ढल व्यवस्थापनले महत्व पाएको छैन। यी संस्था मिलेर काठमाडौं उपत्यकाको १५ सय किलोमिटर सडकमा ढल व्यवस्थापन गर्नुपर्नेमा अहिलेसम्म तीन किलोमिटरमा मात्र काम भएको छ।

मेलम्चीको पानी भित्रिएसँगै प्रयोग भएको ८० देखि ९० प्रतिशत पानी ढलको रुपमा बाहिरिने खानेपानी तथा ढल निकास विभागका सिनियर डिभिजन इन्जिनियर टिका बहादुर चौधरीले बताए। उनले अहिलेको अवस्था रहने हो भने काठमाडौं उपत्यकाका धेरै क्षेत्रमा पानीको मात्रा बढेर डुबान हुने र खोलाका किनारले पानीको बहाव थाम्न नसकेर शहरभित्र छिर्ने जोखिम रहेको बताए।

अहिले बर्षा याममा सुन्दरीजलबाट काठमाडौंमा १६ करोड लिटर पानी भित्रिन्छ। हिउँदमा यो घटेर १० करोड लिटरमा सिमित हुन्छ। मेलम्चीको पानी थपिएपछि बर्षामा ३३ करोड लिटर र हिउँदमा २७ करोड लिटर पानी काठमाडौं आउनेछ।

 

काममा कछुवा गति

हाल सामान्य अवस्थामा पनि अलि ठूलो झरी पर्यो भने काठमाडौं उपत्याकामा कस्तो डुबान होला भन्ने कागजी हिसाब किताबमात्र सरकारी निकायसँग छ। एसियाली विकास बैंक (एडिबी)को ४४ करोड ५२ लाख अमेरिकी डलर ऋण सहयोगमा सञ्चालित गुह्येश्वरीस्थित अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति र केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले कछुवाको तालमा काम गरिरहेका छन्। ती संस्थाले सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष लिएको काम अहिलेसम्म १० प्रतिशत पनि भएको छैन। जबकी ढिलोमा यो बर्ष (सन् २०१७)को अन्त्यसम्ममा मेलम्चीको पानी काठमाडौंमा झारिसकिने जनाइएको छ।

मेलम्चीको पानी सुन्दरीजल ल्याइसकेपछि दोस्रो चरणमा लार्के र याङ्ग्री खोलाबाट दैनिक थप १७/१७ करोड लिटर पानी ल्याउने गरि काम सुरु हुनेछ। यी आयोजनाले मेलम्चीले पछिल्लो समय जस्तै तिब्रता पाउने र ढल व्यवस्थापन अहिलेकै गतिमा हुने हो भने बर्षातका बेला काठमाडौंका धेरै ठाउँमा डुबान हुने जानकारहरु बताउँछन्।

 

'हामीले बारम्बार मेलम्ची खानेपानीको आयोजना, केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालय र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयलाई ढलको काम समानान्तर रुपले अघि बढाउन भनेका थियौं', बरिष्ठ इन्जिनियर चौधरीले भने- 'मेलम्ची आएपश्चात हिउँद समयमा खासै फरक नपर्ला तर बर्षातको समयमा उपत्यकाका खोला र ढलले पानी थेग्न सक्ने अवस्था रहँदैन।'

 

मेलम्चीको पानी काठमाडौं आएपछि बर्षा याममा दैनिक २९ करोड ७० लाख लिटर हाराहारी फोहोर पानी ढलमा बगाउनुपर्ने उनको भनाइ छ। अझ याङ्ग्री र लार्केबाट ३४ करोड लिटर पानी थप भएपछि बर्षायाममा दैनिक ६० करोड लिटर भन्दा बढी पानी ढल बनेर बाहिरिने उनले जानकारी दिए।

आयोजनाले ढल थपिएपछि प्रशोधन गरेर बाग्मती नदीमा फाल्ने योजना बनाएको छ। तर, त्यसको कामले पनि खास गति गति लिन सकेको छैन। 'हाम्रो अनुमान अनुसार हाल भइरहेका ढलका पाइपलाई थप गर्नुपर्ने कुनै आवश्यकता देखिएको छैन', निर्देशनालयका प्रवक्ता लिला प्रसाद ढकालले भने- 'तर अरु देशको प्राक्टिस हेर्दा आकासको पानी र ढललाई छुट्टाछुट्टै ढंगले व्यवस्थापन गरिएको हुन्छ। हामीकहाँ त्यस्तो व्यवस्था छैन। यसले केहि असर पार्न सक्छ।'

 

दैनिक ६० करोड लिटर बढी ढललाई काठमाडौंमा अहिले उपलब्ध ढलले थेग्न सक्छ कि सक्दैन भन्ने मुख्य चिन्ताको विषय रहेको विज्ञहरु बताउँछन्। त्यस बाहेक उपत्यकावासीले घरमा चलाइ रहेका ट्युवेल तथा इनारहरुबाट निस्किरहेको पानी त अहिले नै यो ढलमा बगिरहेको छ। ढल बगाउन बिछ्याइएका पाइपले नथेगेर पानी बाहिर निस्किए उपत्यकालाई झनै अव्यवस्थित बनाउनेछ।

हाल उपत्यकामा बिछ्याइएका ढलका पाइप २ सय एमएम देखी २ मिटरसम्म अग्ला एवं गोलाई भएका छन्। विभागका अर्का एक इन्जिनियरका अनुसार सवैभन्दा ठूलो २ मिटर गोलाई भएको यो पाइपले अधिकतम रुपमा एक करोड लिटर प्रतिमिनेटको बहावमात्र थाम्न सक्छ। तर, मेलम्चीको पानी थप भएपछि बर्षायाममा गौशालादेखी सुन्दरीजलसम्म बाग्मती किनारमा बिछ्याइएको लगायत सबै खोलाका किनारमा विच्छ्याइएका ढलका पाइपमा पाँचदेखी १० करोड लिटर प्रतिमिनेट सम्मको प्रेसर पर्न सक्छ। यस्तो अवस्थामा धेरैजसो ढलका जोड्ती फुटेर पानी बाहिरिन थाल्ने उनको भनाइ छ।

 

खोला मिचेर संरचना बनाउँदाको समस्या

केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालय र गुह्येश्वरीस्थित अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले राजधानीका खोला छेउमा ढलको पाइप राख्ने काम गरिरहेका छन्।

विभिन्न स्थानमा नदीमा सीधै खसिरहेको ढललाई प्रशोधन केन्द्रमा पुर्‍याएर प्रशोधन गरि पुनः नदीमा झार्ने उध्येश्यले थप ढल लाईन निर्माण गर्न थालिएको निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले जानकारी दिए। हाल उपत्यकाका धेरै स्थानमा सडक विभाग र वरपर रहेका जग्गाधनीले नदीको बहाव क्षेत्रलाई मिचेर भौतिक संरचना निर्माण गरेका कारण पनि मेलम्चीको पानी थप हुँदा ढल व्यवस्थापन कठिन बन्ने अवस्था आएको उनले बताए। समयमै खोला वरपर रहेका संरचना हटाएर खोलाको बहावलाई सहज पार्नु पर्ने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell