धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनमा कांग्रेस विजयी हुनुपर्ने बताएका छन्।
धनगढी उपमहानगरपालिकाको फूलबारी र मनहेरामा आज छुट्टाछुट्टै रुपमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनसँग सम्बन्धित भएकाले यो चुनावमा कांग्रेसले जित्नै पर्ने बताए।
प्रधानमन्त्री देउवाले जनताको अधिकारका लागि सात सालदेखि हालसम्म भएका परिवर्तनका आन्दोलनको नेतृत्व कांग्रेसले गरेकै कारण नेपाली जनता अधिकारसम्पन्न भएको उल्लेख गर्दै अहिलेको संविधान कार्यान्वयनका लागि पनि कांग्रेसलाई साथ दिन आग्रह गरे।
उनले विकासको दृष्टिकोणले देशका अन्य क्षेत्रभन्दा पछाडि परेको ७ नम्बर प्रदेशको समग्र विकासका लागि कांग्रेसले पहल गरिरहेको बताए। रासस