काठमाडौं : शुक्रवार अपह्रान्ह ठिक साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरमा एक्कासी खबर आयो 'मे डे मे डे!!! जहाजको दुवै इन्जिन फेल भएर इन्जिन आगलागी हुँदैछ विमानस्थलमा इमरजेन्सी ल्याण्ड गर्नुपर्नेछ व्यवस्था गर्नु।' अगेन रिपिटेड ''बोथ इन्जिन आर फेलर, मेनेज ल्याण्डिङ एप्प्रोच।'
त्यसपछि एयर ट्राफिक कन्ट्रोलरकी टर्मिनल म्यानेजम्यान्टकी अफिसर सुनिता भारद्वाजले भन्न थालिन्, 'एटेन्सन ! दि प्लेन इज गोइङ इमर्जेन्सी ल्याण्ड, वि प्रिपेयर फर अल फङ्सन।'
त्यसपछि टर्मिनल ड्युटी अफिसका कर्मचारीलाई अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धकको कार्यालय, नागरिक उड्ययन प्राधिकरण, दमकल, गृह मन्त्रालय, नेपाल पुलिस, नेपाल आर्मी, ससस्त्र प्रहरी, सिडियो कार्यालय, सिटी अफिस, राजधानिमा रहेका सम्पूर्ण अस्पतालहरु लगायतका कार्यलयको हन्टिङ लाइनमा फोन गरेर जानकारी गराए। त्यसपछि सम्पूर्ण अफिसहरु हाई अलर्टमा रहेर उपलब्ध सबै श्रोत साधनहरु लिएर विमानस्थल आइपुगे।
त्यसपछि विमानस्थल पुरै बन्द भयो र दुवै इन्जिन फेल भएर आगलागी भएको जहाजलाई प्राथमिकता दिएर ल्याण्डिङ क्लियरेन्स दिनका लागि सबैलाई निर्देशन भयो। त्यसपछि त्यो जहाजले ल्याण्डिङको एप्प्रोच (अनुमति) प्राप्त गर्छ र फुलचोकीको डाँडाबाट जहाज अगाडि लागेर आउँछ।
फेरि पाइलटले 'मे डे मे डे' भन्दै पुन ल्याण्डिङ अनुमति माग गर्छन्। जानकारी गराएको पाँच मिनेटभित्र जहाज काठमाडौंको आकाशमा प्रवेश गर्यो। दुवै इन्जिन फेल भएर आगो लाग्दै आइरहेका कारण ढलमल ढलमल हुँदै आइरहेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा प्रवेश गर्न लाग्दै गर्दा एक्कासी अनकन्ट्रोल भयो र रनवेतिर नगई विमानस्थलको पूर्वी भागमा रहेको घाँसे मैदानतिर गएर एउटा कान्लामा ठोक्कियो। धेरै स्पिडमा आएको जहाज ठोक्किएपछि त्यहाँ आगो लाग्यो।
त्यतिन्जेलसम्म दुर्घटना हुन लागेको अग्रिम सूचना थाहा पाइसकेपछि अग्नि नियन्त्रकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न अस्पतालका डाक्टर तथा स्वस्थ्यकर्मी सहित एम्बुलेन्सहरु तयारी हालतमा परिचालन भइसकेको थियो।
शुक्रबार एबीसी एयरलाइन्सको एयरबस कम्पनीको ए ३३० सिरिजको जहाज श्यामपुर भन्ने स्थानबाट काठमाडौं विमानस्थलको लागि उडान गरेकोमा उक्त विमानको दुवै इन्जिनमा आगलागी भएको कारणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पूर्वतिर रहेको फायर स्टेसन नजिकै युटिसी ११०० मा दूर्घटनाग्रस्त भयो।
उक्त वायुयानमा विभिन्न मुलुकका एकसय १८ जना यात्रु, १२ जना क्रु मेम्वर समेत गरी कुल एकसय ८० जना यात्रु सवार थिए। वायुयानमा रहेका यात्रुहरुलाई रेस्क्यु एण्ड फायर फाइटिङ का उद्वारकर्मीहरु, विभिन्न सुरक्षा निकायका कर्मचारीहरु र स्वास्थ्यकर्मीहरुको समेतमा उद्वार तथा उपचार भइरहेको छ।
त्यसपछि दुर्घटना भएको एयरबसका एकसय ८० जना यात्रुमध्ये ४५ जनाको मृत्यु भयो, २७ जना गम्भिर घाइते भएर उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा पुर्याइएको थियो। त्यसमध्ये अति नै गम्भीर अवस्थामा रहेका १ जनालाई हेलिकप्टरबाट ग्रान्डी अन्तराष्ट्रिय अस्पताल पुर्याइएको थियो। ४० जनालाई घटनास्थल नजिकै राखि विभिन्न हस्पिटलबाट आएका विशेषज्ञ सहितको स्वास्थ्य टोलीबाट उपचार भइरहेको थियो।
६८ जना यात्रुहरुलाई सामान्य उपचारपछि आफन्तको जिम्मा लगाइयो भने मृत्यु भएका ४५ जनामध्ये ३० जना पुरुष र १५ जना महिलामध्ये ५ जना क्रु मेम्वरहरु समेत परेका थिए। दुर्घटनास्थललाई चारैतर्फबाट सुरक्षाकर्मीले घेरा हालेर अनुसन्धानका लागि सुरक्षित अवस्थामा राखियो।
तपाईँलाई यो कुनै काल्पनिक कथाजस्तो लाग्न सक्छ। तर शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यो वास्तविक घटना हो। विमानस्थल आधा घण्टाका लागि बन्द भयो। दिउँसो ४ बजेर ३० मिनेटदेखी ५ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द भएको थियो। विमानस्थल बन्द भएपछि उडान र अवतरणको सम्पूर्ण काम ठप्प भयो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को नियम अनुसार प्रत्येक दुई दुई वर्षमा अन्तर्राष्ट्रिय उडान गर्ने विमानस्थलहरुले अनिवार्य रुपमा गर्नुपर्ने 'फूल स्केल इमर्जेन्सी एक्सरसाइज' का लागि आधा घण्टा विमानस्थल बन्द भएको हो।
यो एक्सरसाइजमा ३० मिनेट उडानअवतरण पूर्ण रुपमा बन्द गरेर विमानस्थल र वरपर भएका सम्पूर्ण अग्नी नियन्त्रक लगायतका सामाग्री त्यहाँ लगिन्छ र त्यसको परिक्षण समेत गरिन्छ।
किन गरियो यो ड्रिल?
यदि विमानस्थलमा कुनै जहाजको दुर्घटना भइहाल्यो भने तत्काल कसरी उद्दार गर्न सकिन्छ र विमानस्थलको 'एक्सिडेन्ट रिड्युस' गर्ने क्षमता कति छ भनेर आइकाओको मापदण्ड अनुसार जाँच गरिन्छ। पूर्व तयारीका लागि शुक्रबार एउटा जहाज दुर्घटना भएको ठानियो र एउटा जहाजको आकृतिलाई जबर्जस्ति जलाएर त्यसको ड्रिल गरियो।
'त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कति सुरक्षित रहेको छ र हाम्रो फायर फाइटिङ क्षमता कतिको बलियो रहेको छ यसले निर्धारण गर्छ' विमानस्थलका महाप्रवन्धक देवेन्द्र उपाध्यायले भने 'हामी कुनै किसिमको भैपरी आयो भने सक्षम छौं है भनेर पुष्टि यसले गर्छ।' यो कार्यको परीक्षणका लागि नागरिक उड्ययन प्राधिकरणले उपलब्ध सबै विभाग र निकायका विशेषज्ञको टोलिलाई अनुगमन र निरिक्षणका लागि राखेको हुन्छ।
उनीहरुले फायर फाइटर, दमकल, सुरक्षा निकायको तात्कालिन क्षमता र तत्परता लागयतका सवै कुराको मापन गर्छन् र पछि रिपोर्ट बुझाउँछन्। जसका आधारमा नेपालको विमानस्थलको फायरफाइटिङ कत्तिको सुरक्षित छ भनेर चेकजाँच गरिन्छ। उक्त रिपोर्ट आइकाओलाई पनि बुझाइने उपाध्यायले बताए।