PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

खुला प्रतिस्पर्धामा अपाङ्गता भएका व्याक्ति, लुम्बिनीमा पाँच जना उमेदवार



चन्द्रकान्त खनाल

खुला प्रतिस्पर्धामा अपाङ्गता भएका व्याक्ति, लुम्बिनीमा पाँच जना उमेदवार

रुपन्देहीः स्थानीय तह निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य गरेपछि अपाङ्गता भएका व्यक्तिले समेत कम्तीमा वडा सदस्यमा आरक्षण माग गरेका थिए। तर, कानुनी रुपमा उक्त व्यवस्था नभएपछि अपाङ्गता भएका व्यक्ति खुला प्रतिस्पर्धामा नै चुनाबी मैदानमा उत्रिएका छन्।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार लुम्विनीमा पाँच जना अपाङ्गता भएका व्यक्ति स्थानीय चुनावमा उमेदवार छन्।

एमालेले टिकट दिएपछि रुपन्देहीको सैनामैना नगरपालिका–९ मा डोलराज भण्डारी वडाध्यक्ष पदमा चुनाबी प्रतिस्पर्धामा छन्। शारीरिक रुपमा  अपाङ्गता भएका भण्डारी समाजिक क्षेत्रमा सक्रिय थिए।

समावेशिताका लागि अपाङ्गता भएका व्याक्तिलाई पार्टीले टिकट दिएकोमा उनी पार्टीप्रति आभारी व्यक्त गर्छन्। लामो समयदेखि सामाजिक क्षेत्रमा काम गरेका कारण जित सुनिश्चित भएको उनको दाबी छ।

यस्तै, रुपन्देहीमा पनि शारीरिक अपाङ्गता भएका कृष्णबहादुर गुरुङ सिद्धार्थनगर नगरपालिका–८ बाट वडा सदस्य पदमा उमेदवारी दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले उनलाई वडा सदस्यको टिकट दिएपछि गुरुङ चुनावमा होमिएका छन्।

यस्तै, अर्घाखाँचीबाट अर्का अपाङ्गता भएका व्याक्ति विष्णुप्रसाद भुसाल पनि चुनावी मैदानमा छन्। नयाँ शक्ति नेपाल पार्टीबाट सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा भुसाल खुलातर्फका उम्मेदवार छन्।

यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य समेत रहेका रामरतन हरिजन पनि चुनावी मैदानमा छन्। रामग्राम नगरपालिका वडा नम्बर ५ को वडाध्यक्ष पदमा हरिजनलाई नयाँ शक्ति पार्टी नेपालले उम्मेदवार बनाएको हो।

नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ को अध्यक्षमा रमेश श्रेष्ठ चुनावी मैदानमा छन्। अपाङ्गता भएका श्रेष्ठलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले वडाध्यक्षको उम्मेदवार बनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell