काठमाडौँ: स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत आजदेखि मतदाता परिचयपत्र वितरण हुँदैछ। निर्वाचन आयोगले आजदेखि तीन दिनसम्म परिचयपत्र वितरण गर्दैछ। मतदाताले सम्वन्धित मतदान केन्द्रबाट आफ्नो परिचयपत्र बुझ्न सक्नेछन्। आयोगले परिचयपत्र वितरणसँगै मतदाता शिक्षाको सामान्य जानकारी पनि दिनेछ।
परिचयपत्र वितरणसँगै मतदातालाई मतसंकेत गर्न पनि सिकाइनेछ।
निर्वाचन आयोगका अनुसार दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ जना मतदातालाई परिचयपत्र वितरण गरिनेछ। चार हजार ५८१ मतदानस्थलबाट परिचयपत्र वितरण हुनेछ।
मतदाता परिचयपत्र बुझ्नका लागि सम्वन्धित व्यक्ति परिचय खुल्ने कागजातका साथ उपस्थित हुनुपर्नेछ। परिचयपत्र बुझ्न जान नसक्ने नागरिकको हकमा एकाघरको सदस्यले परिचयपत्र लिन सक्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ।
आउँदो असार १४ गते दोस्रो चरणको निर्वाचन हुँदैछ। प्रदेश १, ५ र ७ मा दोस्रो चरणको निर्वाचन हुँदैछ। प्रदेश २ मा भने असोज २ गते निर्वाचन हुनेछ। दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चुनिनेछन्।