
रत्ननगर: चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि आज बिहान ८ः०५ बजेबाट यातायात सञ्चालनमा आएको छ।
पहिरोका कारण गएराति ९ बजेदेखि बन्द भएको यातायात पहिरो हटाएर ११ घन्टापछि सञ्चालनमा आएको हो।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार अहिले दुईतर्फी नै बाटो खुलाइएकाले गाडीहरु गन्तव्यतर्फ जान थालेका छन्। खनालले यातायात सहज हुन अझै केही घन्टा लाग्ने बताए।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर रातिदेखि सडक अवरुद्ध भएको थियो। दुईतर्फबाट डोजरले पहिरो पन्छाएको थियो।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पहिरो खस्ने क्रम जारी रहेकाले राति पन्छाउन नसकेपछि बिहान ४ बजेबाट मात्रै पहिरो पन्छाउने काम सुरु भएको थियो। चार घन्टाको लगातारको प्रयासपछि बाटो खुलाइएको हो।
ट्राफिक प्रहरीले नारायणगढ–मुग्लिन सडकमा पहिरो आउने क्रम जारी रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरेको छ। रासस