PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

जुनियर गल्फ डेभलपमेन्टको महत्वाकांक्षी योजना



पहिलोपोस्ट

जुनियर गल्फ डेभलपमेन्टको महत्वाकांक्षी योजना

काठमाडौं : नेपाल गल्फ संघको आयोजना र इन्टरनेशनल सोसाईटी फर मेडिकल एजुकेशन (आईएसएमइ)द्वारा प्रायोजित सिएमएस जुनियर गल्फ डेभलपमेन्ट कार्यक्रम शनिबारदेखि काठमाडौंमा सुरु भएको छ।

जुनियर गल्फमार्फत राष्ट्रिय स्तरको खेलाडी खोज्ने प्रमूख उद्देश्यका साथ नेपाल गल्फ संघले यो महत्वाकांक्षी कार्यक्रमको सुरुवात रोयल नेपाल गल्फ क्लबबाट गरेको हो। पहिलो दिन प्रारम्भिक चरणका २५ खेलाडी प्रशिक्षणमा सहभागि भए। गल्फ सघका अनुसार काठमाडौंको ट्रेनिङ क्याम्पमा ५० देखि ६० खेलाडीको सहभागिता रहनेछ।

यो क्याम्पको नेतृत्व प्रमूख प्रशिक्षक प्रो गल्फर दीपक थापा मगरले गर्नेछन्। उनलाई अन्य दुई प्रशिक्षक रमेश नगरकोटी र सचिन भट्टराईले साथ दिनेछन्।

पहिलो दिन जुनियर गल्फरहरुलाई सिएमएस जुनियर गल्फ डेभलपमेन्ट कार्यक्रमको जानकारी दिइयो। जुनियर गल्फरहरुले शनिबारबाटै प्रशिक्षण पनि सुरु गरेका छन्। यो प्रशिक्षण प्रत्येक साताको शनिबार निःशुल्क संचालन हुनेछ। ४३ साता सम्म चल्ने प्रशिक्षणमा चाहिने सम्पूर्ण सुविधा नेपाल गल्फ संघले उपलब्ध गराउनेछ।

नेपाल गल्फ संघले काठमाडौंसँगै धरान र पोखरामा पनि यो कार्यक्रम संचालन गर्नेछ। पोखरा र धरानमा ३०–३० जना जुनियर गल्फर सहभागि हुने अपेक्षा गरिएको छ। ४३ साताको प्रशिक्षण दौरान काठमाडौंमा चार तथा धरान र काठमाडौंमा ३–३ वटा क्षेत्रिय प्रतियोगिता संचालन हुनेछ।

अन्त्यमा तीनै प्रशिक्षण केन्द्रका उत्कृष्ट जुनियर गल्फरहरुबीच अन्तिम प्रतियोगितागरि प्रतिभावान गल्फर छनौट गर्ने योजना संघको छ। जुनियर ट्रेनिङ क्याम्पको प्रमूख उद्देश्य प्रतिभावानसँगै विपन्नवर्गका जुनियर खेलाडिहरुलाई अवसर दिनु पनि हो।

यो प्रशिक्षणमा १६ वर्ष मुनिका खेलाडीहरु सहभागि हुन पाउनेछन्  तीनवटै प्रशिक्षण केन्द्रमा एकैखाले प्रशिक्षण संचालन गरिनेछ। जुनियर गल्फ विकासको महत्वाकांक्षी कार्यक्रमको पहिलो दिन नेपाल गल्फ संघका अध्यक्ष टासी घले र नेपाल गल्फ संघका यूथ डेभलपमेन्ट निर्देशक दीपक आचार्यको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell