
इस्लामावादः पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ।
पञ्जाव प्रान्तको बहालपुरमा रहेको भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक डा.अरुन्जेबले आगलागीबाट मृत्यु हुनेको संख्या १२० पुगेको जानकारी दिए।
आगलागीमा परी घाइते भएका एक सय भन्दा बढीको बहालपुर जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बहालपुर जिल्लाको अहमदपुर साकी राजमार्गमा गुडिरहेको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर अकस्मात सडकमा पल्टिएको थियो।
सडकमा ट्याङ्कर पल्टिएपछि त्यसमा रहेको प्रज्ज्वलनशील पदार्थ पोखिएको र पोखिएको तेल लिन गएका सर्वसाधारण आगलागीमा परेका थिए। सयौँको सङ्ख्यामा जम्मा भएर तेल उठाउँदै गर्दा अकस्मात तेलमा आगो लागेको थियो।
सडकमा ट्याङ्कर दुर्घटना नै भएर हो या किन पल्टियो भन्ने बारेमा भने केही बताइएको छैन। यस विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ।
तर कतिपय स्थानीय सञ्चारमाध्यमहरुले पोखिएको तेल उठाउन आएकामध्येकै कसैले चुरोटको ठुटो त्यहाँ फालिदिएका कारण सो आगलागी भएको हुनसक्ने अनुमान गरेका छन्। तर यसको पुष्टि भने भएको छैन।
स्थानीय दमकल विभागका एकजना कर्मचारीले दुर्घटनास्थलमा कम्तीमा पनि तीन वटा दमकल पठाइएको जनाएका छन्।
आगलागीबाट त्यहाँ रहेका करिब ७५ वटा मोटरसाइकल र ६ वटा गाडीसमेत जलेका छन्।
अधिकांश ती सवारीसाधन पनि पोखिएको तेल जम्मा गर्न आएका मानिसको भएको अनुमान गरिएको छ। रासस/सिन्ह्वा