
सिन्धुली: असारलागेसँगै महाभारत क्षेत्रमा धान रोपाइँ सुरु भएको छ। रोपाइँ ढिला हुँदा धान नफल्ने भएपछि किसान हतारिएका हुन् ।
भद्रकाली, जलकन्या, रतनचुरा, तीनकन्यालगायतका स्थानका किसान अहिले धान रोपाइँमा व्यस्त छन्। महाभारतका केही क्षेत्रमा जेठको अन्तिम साताबाटै धान रोपाइँ सुरु हुने गर्दछ।
अघिल्लो वर्षको तुलनामा यसवर्ष जिल्लामा केही छिटो रोपाइँ भएको छ। कृषक असारको पहिलो सातानै वर्षेबाली अर्थात् धान रोपाइँमा व्यस्त हुन थालेका छन्।
यस भेगका कृषकले सिंचाइको लागि पोखरी बनाई पानी सङ्कलन गरेर रोपाइँ गर्दै आएका छन्। पानी जम्मा गर्ने र पालैपालो आवश्यकता अनुसार प्रयोग गर्ने गरेको जलकन्याका रमेश बुढाथोकीले बताए।
आकासे पानीको भरपर्दा धेरै ढिला हुने भएकाले आफू अनुकूल रोपाइँ गर्नकै लागि सिँचाइका लागिसबैले आ–आफ्नो खेतबारीमा पानीको जोहो गरेको उनको भनाइ छ।
सिन्धुलीमा महाभारत क्षेत्रमा पोख्रेली, खुमल, डल्ले खुमल, बास्मती, हर्दिनाथ, ताईचीनलगायतका जातका धान कृषकले लगाउने गर्दछन्। महाभारत बाहेकका अन्य स्थानमा असार १५ पछि मात्रै रोपाइँ हुने गर्छ।
जिल्लामा १४ हजार ९५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। गतवर्ष यहाँ ५० हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो। रासस