PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

जुम्लाका स्याउ किसानलाई बिमा कम्पनीद्वारा क्षतिपूर्ति प्रदान, किसान खुसीले दङ्ग



रासस

जुम्लाका स्याउ किसानलाई बिमा कम्पनीद्वारा क्षतिपूर्ति प्रदान, किसान खुसीले दङ्ग

जुम्लाः  मौसममा आधारित स्याउखेतीको बिमा गरेका जुम्लाका किसान क्षतिपूर्ति पाएपछि दङ्ग छन्। 

शिखर इन्स्योरेन्स कम्पनीले पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो। गुठीचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका १४७ किसानमध्ये १०५ जनाले क्षतिपूर्ति पाएका हुन्।

मौसमी स्याउ असिना र सुख्खा खडेरीले क्षति पुर्याएकाले बिमा गरेका कृषकलाई राहत उपलब्ध गराइएको कम्पनीका क्षेत्रीय प्रबन्धक ऋषिराम पाण्डेले बताए। 

कम्पनीले १० वटा स्याउका बोट बराबर दुई हजार ९२१ उपलब्ध गराएको छ। जसमा अधिकतम् १४ हजार ६०५ र न्यूनतम दुई हजार ९२१ क्षतिपूर्ति उपलब्ध गराइएको पाण्डेले जानकारी दिए। 

सुरुको वर्षमा ४७ जनाले मौसमी स्याउ बिमा गरेकामा कुनै क्षति नपुगेको तर पछिल्लो समयमा बिमा गरेका किसानको स्याउमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध गराएको उनको भनाइ छ । 

सक्षम कार्यक्रमका जिल्ला संयोजक सुजीत श्रेष्ठले मौसम सूचकाङ्का आधारमा नेपालमै पहिलो पटक जुम्लामा परीक्षण परियोजनाका रुपमा कार्यक्रम लागू गरिएको बताए। जुम्लाका आठवटै स्थानीय तहमा मापन केन्द्र स्थापनागरी स्याउ बिमा कार्यक्रमलाई अघि बढाउने उनले जानकारी दिए।

कार्यक्रमस्थलमै क्षतिपूर्तिको चेक पाउँदा किसान दङ्ग परेका छन्। “बिमा गर्नुपर्छ भन्दा एक बोट बराबर ४० रुपैयाँ तिर्न हामी निकै तर्सिएका थियौं, तर आज क्षतिपूर्ति पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो,” स्थानीय कृषक जगप्रसाद जैसीले भने। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell