
काठमाडौंः नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानको दायरालाई फराकिलो पार्नुपर्ने बताएको छ।
परिषद्ले सञ्चालनमा ल्याएको वेब पोर्टलको काठमाडौंमा आज उद्घाटन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव किरण रेग्मीले परिषद्मा सङ्ख्यात्मक अनुसन्धानमा निकै वृद्धि भएपनि गुणस्तरीय अनुसन्धान प्रतिवेदनमा निकै थोरै मात्र उपलब्धि हासिल भएकाले गुणस्तरीय अनुसन्धानको दायरा फराकिलो पार्न परिषद्को ध्यान आकृष्ट गरिन्।
सरकारलाई परिषद्ले नीति तथा कार्यक्रम तर्जुमा, स्वास्थ्य अनुसन्धानमा नियमन तथा स्वास्थ्य अनुसन्धानको क्षमता अभिवृद्धिमा दुई दशकदेखि सहयोग गर्दै आएको छ।
नेपाली अनुसन्धान, लेख आदि अन्तर्राष्ट्रिय क्षेत्रमा लगेर अनुभवको आदानप्रदान गर्नुपर्ने भन्दै रेग्मीले प्रयोगशाला तथा सम्बन्धित क्षेत्रमा गई गरिने अनुसन्धानलाई नयाँ आयाम थपेर व्यवस्थित गर्नुपर्नेमा जोड दिइन्।
परिषद्का कार्यकारी अध्यक्ष डा अञ्जनीकुमार झाले परिषद्लाई बदलिँदो परिवेशमा स्वतन्त्र रुपमा काम गर्ने वातावरण तयार पार्नुपर्ने बताए।
परिषद्ले गरेको राष्ट्रिय दीर्घ रोग सर्वेक्षणमा नसर्ने रोगका रोगीको प्रतिशत ६० भन्दा बढी रहेको, मानसिक स्वास्थ्य सम्बन्धमा इलाममा अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको जनाइएको छ। रासस