इलामः स्थानीय तहको निर्वाचनमा इलामका चारवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ।
इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालय, सोही नगरपालिकाको भगवती मावि, र इलाम विद्यामन्दिर र माई जोगमाई गाउँपालिकाको अमरकल्याण मावि नयाँबजारमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन केन्द्र महिलामैत्री र नमुनाका बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको सहायक निर्वाचन अधिकृत जगदीश्वर भट्टराईले जानकारी दिए।
महिला कर्मचारी परिचालन भएका मतदान केन्द्रमा सहायक मतदान अधिकृत, दुईजना सहायक कर्मचारी र दुईजना सहयोगी पनि महिला नै नियुक्ति गरिएको छ।
चार नगरपालिका र छवटा गाउँपालिका रहेको इलाममा एक लाख ८९ हजार २७४ मतदाता छन्। सबै मतदान केन्द्रमा शनिबारै कर्मचारी पुगिसकेका र आजदेखि मतदाता परिचयपत्र वितरणको काम सुरु हुने जनाइएको छ। रासस