PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा भारतीय गाउँ



रासस

अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा भारतीय गाउँ
फोटो श्रोतः cnn.com

नयाँदिल्लीः भारतको राजधानी नयाँदिल्लीबाट नजिकै पर्ने एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा नामाकरण गरिएको छ। 
उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लामा पर्ने मारोरा भन्ने सो गाँउमा अधिकांश मुस्लिम समुदायको बस्ती छ। ट्रम्प नाम दिइएको सो गाँउ नयाँदिल्लीबाट करिब ८० किलोमिटर टाढा पर्दछ। 

भारतमा शौचालयको प्रयोगका बारेमा चेतना जगाउने तथा निःशुल्क रुपमा सौचालय निर्माण गरिदिने काम गर्दै आइरहेको संस्था सुलभ इन्टरनेशनलले त्यस गाँउलाई खुल्ला दिशामुक्त गाँउ बनाउनका लागि सवैको ध्यानाकर्षण गराउने उद्धेश्यले यस्तो नाम दिएको बताइएको छ। 

संस्थाका संस्थापक विन्देश्वर पाठकले सो गाँउप्रति सरकारले ध्यान दिएर खानेपानी र सरसफाईको अवस्थालाई विश्वस्तरमा पुर्याउनुपर्ने बताए। 

कुल १६५ घरधुरी रहेको गाँउमा अहिलेसम्म जम्मा २० वटा मात्र शौचालय छन्। सुलभले आगामी सन् २०१९ अक्टोबर २ सम्ममा सवै घरमा कम्तीमा एउटा शौचालय निःशुल्क रुपमा बनाइदिएर खुल्ला दिशामुक्त क्षेत्र बनाउने उद्धेश्य राखेको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफा भारत बनाउने घोषणा गरे अनुसार सोही मिति पर्नेगरी यो मिति तय गरिएको पनि संस्थाका संस्थापक पाठकले जानकारी दिए। 

पाठकले मारोरा गाँउलाई ट्रम्प गाँउ नामाकरण गरिएको घोषणा हालै मात्रै वासिङटन डिसीमा भएको एक कार्यक्रममा गरेका थिए। 

भारतमा यसरी अमेरिकी राष्ट्रपतिको नाममा गाँउको नाम राखेको यो पहिलो पटक भने होईन। राजधानीसँग सिमाना जोडिएको दौलतपुर नासिराबाद भन्ने अर्को गाँउलाई पनि यसअघि कार्टरपुरी नाम दिइएको थियो। जहाँ अमेरिकी पुर्व राष्ट्रपति जिम्मी कार्टरले सन् १९७८ मा भ्रमण गरेका थिए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell