बाँके : २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनको तापले नेपालगञ्ज उपमहानगरपालिकालाई पनि तताएको छ। मतदानको लागि तीन दिन मात्र बाँकी हुँदा मतदाताहरु आफ्ना प्रतिनिधि चुन्न तयार देखिन्छन् भने नेता तथा कार्यकर्ता विभिन्न एजेन्डाहरु अघि सार्दै भोट मागिरहेका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य बजार नेपालगञ्ज बजार पश्चिम नेपालको एक प्रमुख व्या्पारिक केन्द्रसँगै एक ऐतिहासिक शहर पनि हो। नेपालकै नामबाट स्थापना भएको यस ऐतिहासिक शहर २०१७ सालमा नगर बनेको थियो। नगरपञ्चायतबाट २०१९ सालमा नगरपालिकाका रुपमा स्थापित यो शहर अहिले उप– महानगरपालिका हो।
२८ वटा वडा रहेको नेपालगञ्ज नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा नेपालबीच प्रतिस्पर्धा हुँदैछ। १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि तयार बसेको नेपालगञ्ज उपमहानगरपालिकामा देखिएका मुख्य दृश्य यस्ता छन् :
बिना तालमेलको रोचक भिडन्त
नेपालगञ्ज नगरपालिकामा मुख्य तीन दलहरु कांग्रस, एमाले, माओवादी केन्द्र र राप्रपाबीच कुनै तालमेल भएको छैन। बिना तालमेल चार मुख्य पार्टीबीच हुनलागेको भिडन्तमा मानिसहरुले विभिन्न अनुमान लगाएपनि कस्ले जित्ला भन्नेमा सबै अलमलमै रहेका छन्।२०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका पूर्व सरकारी कर्मचारी र एक कुशल व्यवसायीको छवि बनाएका दामोदर आचार्यले माओवादी केन्द्रका तर्फबाट मेयरको दावेदारी राखेका छन्।
त्यस्तै एमालेको तर्फबाट भारोत्तलन खेल खेलेर नेपाललाई थुप्रै पदक जिताएका मुस्लिम समुदायका नेता समशुद्दिन सिद्दिकी मेयरमा उठेका छन् र नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदको दावेदार मेडिकल शिक्षा व्यवसायी सुरेश कुमार कनौडिया छन्।
प्रचारप्रसारमा भारतीय गाडीको अधिक प्रयोग
नेपालगञ्ज उपमहानगरपालिकामा चुनाव प्रचारप्रसारका लागि भारतीय नम्बर प्लेटका गाडी अधिक प्रयोग भएका छन्।निर्वाचनको प्रचार प्रसार गर्ने क्रममा कार्यकर्तालाई सम्बन्धित ठाउँमा पुर्याउने र ल्याउनेदेखि नारा लगाउन प्रयोग गर्ने सामान ओसारपसार गर्ने काममा समेत लगाउने गरेको पाइएको छ।
एक भारतीय नम्बरप्लेट भएका र चुनाव प्रचार प्रसारमा लागेका गाडी चालकले आफूहरुलाई भारतको रुपैहिडियाबाट भाडामा ल्याउने गरेको बताए। उनका अनुसार दिनभरी गाडी प्रयोग गरेवापत गाडीहरुलाई दैनिक ज्याला दिइने गरिन्छ।
भारतीय गाडीलाई नेपालमा हुन लागेको चुनाव प्रचारप्रसारको लागि किन प्रयोग गरेको भन्ने प्रश्नमा पार्टीका एक कार्यकर्ता नेपाली गाडीको तुलनामा भारतीय गाडीलाई भाडामा लिँदा धेरै काम मुल्यमा पाइने कारण देखाउँछन्।
निर्वाचन आयोगले निषेध गरेका सामाग्री फेसनमा
निर्वाचन आयोगले टिसर्टलगायतका प्रचार प्रसारका साम्रगी चुनावमा प्रयोग नगर्न भनेपनि नेपालगञ्जमा जोकोहीको शरीरमा पनि यस्ता पार्टीका चुनाव चिन्ह अंकित झण्डा देख्न सकिन्छ। धम्बोझी लगायत वरपरका विभिन्न क्षेत्रमा निर्वाचनमा सहभागी पार्टीले आफ्ना चुनाव चिन्ह अंकित झण्डाका माला बनाएर बजारलाई सजाएको देख्न सकिन्छ।
फेन्सी हाउसमा निर्वाचन आचारसंहितालाई मात दिँदै केही पार्टीका टिसर्ट र क्याप बेच्न राखिएका छन्। ब्यापारीहरु एउटा टिसर्टलाई एक सयदेखि चार सय रुपैयाँमा बेच्ने गरेको बताउँछन्। पार्टीका चुनाव चिन्हअंकित टिसर्टहरु पसलमा काम गर्ने कामदारदेखि सडकमा हिँड्ने सामान्य मानिससम्मले फेसनको रुपमा प्रयोग गरिरहेका छन्।
सडकमा अटोहरु दौडिरहेका छन्। मानिससँगै अटोले पार्टीका झण्डा बोकेका देखिन्छन्। सडक छेउका पर्खालमा उम्मेद्वार र पार्टीका एजेन्डाहरु छापिएका पोस्टरहरु टाँसिएका छन्।
एमालेबाट चुनाव जित्ने राप्रपाका धवलको चर्चा
नेपालगञ्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वारमध्ये सबैभन्दा चर्चाका पात्र बन्न सफल उम्मेद्वार धवल शमशेर राणा हुन्।२०४९ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा नेपाली कांग्रेस तर्फका उम्मेद्वार विजयकुमार गुप्ताले जित हासिल गरेका थिए भने २०५४ सालमा भएको दोस्रो स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेद्वार धवलशमशेर राणाले निर्वाचन जितेका थिए।
अहिले भने उनी राप्रपाका उम्मेदवार बनेका छन्।
बिहेको कार्डको शैलिमा माओवादीको कार्ड निम्तो
चुनावी रिपोर्टिङको लागि हामी बाँकेका केही स्थानमा घुम्यौँ। केही स्थानमा माओवादी केन्द्रले मतदाताहरुलाई मतदाता परिचय पत्र नम्बरसहितको निमन्त्रणा कार्ड बाँडिरहेको थियो।निमन्त्रणा कार्ड हात पारेपछि पढ्न नजाने पनि दिलबहादुर जोलाह मुस्कुराइरहेका थिए।