PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो, यातायात अवरुद्ध



रासस

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो, यातायात अवरुद्ध

चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकै आज अपराह्न ३ बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ। 

शनिबार राति ९ बजे पहिरो खसेपछि अवरुद्ध सडक बिहान ८ बजेदेखि सञ्चालनमा आएको थियो। प्रहरीका अनुसार शुक्रबार बिहान पहिरो खसेर चार प्रहरीसहित भ्यान र ट्रक त्रिशूली नदीमा खसेको ठाउँमा नै आज पुनः पहिरो खसेको हो। 

त्रिशूलीमा बेपत्ता प्रहरी र भ्यान खोजी गरिरहेका सुरक्षाकर्मी पहिरो खसेपछि भागेर बचेका थिए। सडकमा ठेकेदार कम्पनीको कन्टेनरको केही भागमा सामान्य क्षति भएको छ भने चालक भागेर बचेका छन्।

शुक्रबार बिहान सो ठाउँमा दुई हजार घनमिटरको पहिरो खसेको थियो। आज खसेको पहिलो सो पहिरोभन्दा ठूलो रहेको नारायणगढ–मुग्लिन आयोजनाले जनाएको छ। 

पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव पाँच किलोमिटर नारायणढतर्फ पर्छ। भित्तो काटेर सडक फराकिलो बनाइएको सो ठाउँमा पहिरो खसेको हो। एघार घन्टादेखि अवरुद्ध सडक खुलेको केही बेरमै पुनः पहिरो खसेपछि यात्रुको बिचल्ली भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell