
इस्तानबुलः टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन बिपरीत भएको बताएका छन्।
राष्ट्रपति एर्दोगानले कतारमाथिको प्रतिबन्ध सरासर अन्तर्राष्ट्रिय कानुनबिपरीत रहेको छ र त्यसलाई खुकुलो बनाउने निहुँमा ती देशले कतारमाथि राखेका विभिन्न शर्तहरु झनै अवैधानिक भएको बताए।
कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतारमाथि विभिन्न शर्त राखेका छन्।
उनीहरुले राखेका शर्तहरुमध्ये एउटा कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने पनि रहेको छ। योसहित उनीहरुले सामूहिकरुपमा १३ वटा विभिन्न शर्त अघि सारेका छन्।
कतारले भने ती सबै शर्तमा कुनै पनि नमान्ने जवाफ दिएको छ। ती देशले कतारसँग शनिबारसम्म शर्त पूरा भएमा मात्र कतारसँग पुनः सम्बन्ध जोड्ने चेतावानी दिएका थिए।
टर्कीको सरकारी समाचार समिति अनादोलुले राष्ट्रपति एर्दोगानलाई उद्धृतगर्दै भनेको छ– हामी कतारको साथमा छौँ, कतारले शर्त स्वीकार्य छैन भनी दिएको अभिव्यक्तिको हामी स्वागत गर्दछौँ।
कतारमाथि यस्तो प्रतिबन्ध लागेको दुई हप्तापछि चारवटा गल्फ देशले कतारमाथि शर्त राखेका छन्। कतार समस्याको समाधानका लागि अगुवाई गरेको भन्दै कुवेतले मध्यस्थता गरेको छ।
कुवेतमार्फत नै सो शर्तको कुरा आएको हो। ती शर्तहरुमा दोहामा रहेको टर्कीको सैनिक पोष्ट पनि हटाउनुपर्ने भनिएको छ। त्यो शर्तमा पनि कतार सहमत नभएको बताइएको छ।
टर्कीस् राष्ट्रपति एर्दोगानले दोहामा रहेको टर्कीस् सैनिक पोष्ट हटाउनका लागि गल्फ देशहरुले दिएको आदेशले टर्कीको अपमान गरेको बताएका छन् । उनले यो शर्त कतारले नमानेर ठीक गरेको बताएका छन्।रासस/एएफपी