काठमाडौँः नेपाली कांग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मतदान गर्न मतदातालाई आह्वान गरेको छ ।
कांग्रेसले आज विज्ञप्तिमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचन हुन गइरहेको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमार्फत् आर्थिक–सामाजिक रुपान्तरण गर्दै सुशासन र स्थानीय समृद्धि प्राप्त हुने विश्वास व्यक्त गरेको छ।
कांग्रेसले देशलाई शान्ति र समृद्धिको बाटोमा अगाडि बढाउन, सामाजिक सद्भाव र जनताको एकता सुदृढ बनाउन आफ्ना उम्मेदवारलाई विजयी गराउन अपिल पनि गरेको छ। स्थानीय तहको दोस्रो चरणको निर्वाचन यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुँदैछ।
अत्यन्त कठिन साधना र समर्पणबाट प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर स्थानीय तहको यस निर्वाचनबाट प्राप्त भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘स्थानीय तहलाई लोकतन्त्रको मजबुत आधारशीला बनाउने महायज्ञमा कांग्रेसकै नेतृत्वदायी भूमिकाको अपरिहार्यता आमनेपाली जनताले महसुस गरेकै छन्। ‘कांग्रेसको नेतृत्वमा नयाँ संविधान–कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ को नारा लिएर कांग्रेस जनताको चाहना र भावनालाई आत्मासात् गर्दै चुनावी मैदानमा उत्रिएको छ,’– विज्ञप्तिमा उल्लेख छ। रासस