PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

भर्नामा योग्यताअनुसार शुल्क नलिएको भन्दै डिएसओएनको विरोध



रासस

काठमाडौँः त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजले निर्धारण भइसकेको शुल्क कार्यान्वयनमा अवरोध गर्दै योग्यता सूची (मेरिट) अनुसार भर्ना नलिएकामा सर्वत्र विरोध भइरहेको छ। 

त्रिविअन्तर्गतका निजी मेडिकल कलेजले स्नातकोत्तर तह (पिजी) कोटामा सरकारले तोकेको भन्दा बढी शुल्क लिएर विद्यार्थी भर्ना गर्न थालेपछि चौतर्फी विरोध बढेको हो। 

डाक्टर्स सोसाइटी अफ नेपाल (डिएसओएन)ले विज्ञप्ति जारी गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को योग्यता सूचीअनुसार शुल्कमा भर्ना नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ। 

डिएसओएनका कार्यवाहक अध्यक्ष डा कालुसिंह खत्री र कार्यवाहक महासचिव डा तोसिमा कार्कीले विज्ञप्तिमार्फत तोकेकोभन्दा बढी शुल्क लिए आन्दोलन गर्ने बताएका छन्। नेपाल मेडिकल परिषद्ले निर्धारित शुल्क निर्देशनलाई अटेर गरे आन्दोलनबाट हुने क्षतिको जिम्मेवार बताए। 

निजी मेडिकल कलेजले त्रिवि परिषद्द्वारा शुल्क लागू गर्न बहानाबाजी गर्दै कार्यान्वयन नगरेको र योग्यताअनुसार भर्ना हुन जाने चिकित्सकलाई भर्ना नलिएको बताइएको छ। डाक्टर्स सोसाइटी अफ नेपालले चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिवि परिषद्को ध्यानाकर्षण गराउँदै चिकित्साशास्त्र डीन कार्यालयले वैशाख २९ र ३० गते तथा काउन्सिलले असार ८ गते योग्यताका आधारमा भर्ना लिनु भनी सूचना जारी गर्दै निर्देशन दिएको थियो। 

जेठ ८ गते नेपाल मेडिकल काउन्सिलले मेरिट लिस्टअनुसार भर्ना लिन दिएको निर्देशनसमेत निजी कलेजले उल्लङ्घन गरेकामा डिएसओएनले आपत्ति जनाएको छ। 

काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजमा शुल्क र भर्नाको समस्या समाधान भइसक्दा पनि त्रिविबाट सम्बन्धन प्राप्त निजी कलेजमा उच्च अङ्क ल्याउने विद्यार्थीलाई भन्दा बढी पैसा तिर्नेलाई भर्ना लिने समस्या दोहोरिइरहनुमा निर्णायक निकाय त्रिवि परिषद् र आइओएमको कमजोरी भएको बताइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell