
पोखराः पश्चिमाञ्चल क्षेत्र अन्तरगतको लुम्बिनी अञ्चलमा हुन गइरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षाको दृष्टिले ६ जिल्लाका ३ सय ४६ मतदान स्थल संवेदनशील सूचीमा परेका छन्।
लुम्बिनी अञ्चलका ६ जिल्लाका कुल ९ सय १० मतदानस्थल मध्ये सुरक्षा संवेदनशीलताको आधारमा ३ सय ४६ अतिसंवेदनशील, २ सय ४५ संवेदनशील र ३ सय ९१ सामान्य रहेको क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रवक्ता एवं प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले पत्रकार सम्मेलनमा जानकारी दिए।
मतदानस्थलको संवेदनशीलताको आधारमा एउटा मतदानस्थलमा ७ देखि २३ जनासम्म प्रहरी र म्यादी प्रहरी परिचालित हुने पश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ। लुम्बिनी अञ्चलको निर्वाचन सुरक्षाका लागि ७ हजार २८० प्रहरी र ७ हजार ८७५ म्यादी प्रहरी परिचालन गरिएको छ।
कुल १४ लाख २ हजार ५७१ मतदाता रहेको लुम्बिनीका ६१ स्थानीय तहमा १३ हजार २४२ उम्मेदवार प्रतिस्पर्धामा छन्। पश्चिम क्षेत्रअन्तर्गत प्रदेश नम्बर ५ को लुम्बिनी अञ्चलका ६ जिल्लामा १ उपमहानगरपालिका, २१ नगरपालिका र ३९ गाउँपालिका छन्।
स्थानीय तहमा उम्मेदवारी दिएका मध्ये १ सय ४९ जनाले मनोनयन फिर्ता लिएको र नवलपरासीमा ४ जना सदस्य पदका उम्मेदवार निर्विरोध भइसकेका छन्।
निर्वाचन सुरक्षाको संवेदनशीलतालाई मध्येनजरगरी भारतसँग सीमा जोडिएका नाका ४८ घण्टा पहिले बन्द गर्ने निर्णय भएको छ ।