
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।
शुभकामना सन्देश जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इदुल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेकी छन्।
पर्वले आफ्ना मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै पर्वले विविधताबीच राष्ट्रिय एकताको भावना जागृत गराउने सन्देशमा उल्लेख छ।
राष्ट्रपति भण्डारीले रमजानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्भाव र सहिष्णुताको भावना विकास गराउने सन्देशमा उल्लेख गरेकी छन्।
यस्तै उप–राष्ट्रपति नन्दबहादुर पुनले इदको अवसरमा इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति सु–स्वास्थ्य समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
इदको अवसरमा एक सन्देश दिँदै पुनले पर्वको माध्यमबाट मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने कुरामा विश्वास व्यक्त गरेका छन्।
यस पर्वले संविधान कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सम्पूर्ण राजनीतिक दललाई प्रेरणा दिने उप–राष्ट्रपति पुनले विश्वास लिएका छन्।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्रको अवसरमा नेपाल र नेपाल बाहिर रहनुभएका सम्पूर्ण मुस्लिम समुदायका दिदीबहिनी दाजुभाइमा शुभकामना दिँदै सामाजिक सहिष्णुता, जिम्मेवारीबोध र राष्ट्रिय एकता आजको आवश्यकता भएकोमा जोड दिएका छन्।
‘हाम्रो मुलुक विविध भाषा, संस्कृति, धर्म, समुदाय र भूगोल जस्ता कुराहरुले विश्वमै विशिष्ट अवस्थामा छ। सदिऔँदेखि यी विशेषतायुक्त जनताको एकतालाई खल्बल्याउन विभिन्न कोणबाट भइरहेका प्रयत्नप्रति हामी सबै विशेष संवेदनशील हुन आवश्यक छ,’ इदको शुभकामना सन्देशमा उनले भनेका छन्।
अध्यक्ष ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो सामाजिक सहिष्णुता, मित्रता र सहकार्यले नै हाम्रो मुलुकलाई सबैको साझा फूलबारी बनाएको छ। यस विशिष्टतालाई अझ उन्नत बनाउन इस्लाम धर्मावलम्बीहरुको ईदका अवसरमा आपसमा बाँडिने शुभकामना आदान प्रदानले भूमिका निर्वाह गर्ने मैले अपेक्षा गरेको छु।’
यस्तै राष्ट्रिय मुस्लिम आयोगले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद ९इदुल फित्र० का अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामाना व्यक्त गरेको छ।
पर्वले समस्त नेपालीहरुमा धार्मिक एवम् सामाजिक सद्भाव स्थापित भई देशमा राष्ट्रिय एकता कायम हुने विश्वास लिएको आयोगले आज जारी गरिएको शुभकामना सन्देशमा उल्लेख छ। रासस