
यूएईः युनाइटेड अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा बिन जैयद अल नयन सन् २०१४ मा मस्तिष्कघातका कारण बिरामी भएपछि आइतबार पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन्।
मुसलमानहरुको महत्वपूर्ण पर्व इद उल फित्र मनाउने क्रममा राष्ट्रपति शेख खलिफा सार्वजनिक कार्यक्रममा सहभागी भएका यूएईको सरकारी समाचार संस्था ‘वाम’ ले जनाएको छ। वामले राष्ट्रपति सार्वजनिक कार्यक्रममा सरिक भएका तस्बिर सार्वजनिक गरेको छ।
इदको पहिलो दिन आबुधाबी दरबारमा विदेशी पाहुनासहित शेख खालिफा हँसिलो मुद्रामा प्रस्तुत भएका थिए।
६९ वर्षीय राष्ट्रपति शेख खालिफा सन् २०१४ को जनवरीमा मस्तिष्कघातका कारण बेहोस भएपछि उनको शल्यक्रिया गरी उपचार भएको यूएईले जनाएको थियो।
उनी विरामी भएपछि उनको अनुपस्थितिमा सौतेनी भाइ शेख मोहम्मद बिन जैयदले कार्यवाहक राष्ट्रपतिको रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। रासस/एएफपी