
चितवन : सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउसो आवागमन रोकिएको नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि सवारी आवागमन नरोकिने भएको छ।
दिउसो पनि सवारी चल्न दिएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ।
विस्तारका क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि चैत १४ गतेबाट दिउसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो।
त्यसअघि दिउसो ११ बजेबाट ३ बजेसम्म सडक रोकिने गरेको थियो। वर्षासँगै पहिरो खस्ने क्रम बढेको र निर्वाचनमा मतदान गर्न जानेका लागिसमेत अप्ठ्यारो परेपछि आजदेखि सडकमा आवागमन नरोकिने भएको हो।
आज इदको बिदा परेकाले उपत्यकामा रहेका तीनवटा प्रदेशका मतदाता मतदानका लागि आआफ्नो गन्तव्यतर्फ जाँदैछन्। मध्यभागमा रहेकाले उनीहरुले नारायणगढ मुग्लिन सडकखण्ड प्रयोग गर्नुपर्ने हुन्छ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कुनै पनि बेला पहिरो खस्न सक्ने भएकाले तयारी अवस्थामा उपकरण र जनशक्ति राखिएको जानकारी दिए।
सडकमा २४ सैँ घन्टा सुरक्षाकर्मी, ठेकेदार कम्पनी, आयोजनाका कर्मचारी र जनप्रतिनिधिसहितले अनुगमन गरिरहेकाले दुर्घटना हुन नदिन र यात्रुलाई सहज बनाउन लागिएको छ।
रातको समयमा सडक रोक्ने तयारी भएको भएपनि निर्वाचनलाई केन्द्रीत गरेर केही दिन दिउसो र राति दुबै समय सडक सुचारु गर्न लागिएको हो। सो सडक हुँदै दैनिक ११ हजार सवारीसाधन आवातजावत गर्ने गर्दछन्।रासस