
काठमाडौँः नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वर्षेनी बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ।
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेपालमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको जानकारी दिइएको हो।
गृह मन्त्रालयकाअनुसार नेपालमा लागूऔषध प्रयोग गर्नेको सङ्ख्या २०६९ सालमा ९१ हजार ५३४ थियो। २०६३ सालको तुलनामा यो करिव ४५ हजारले बढी हो।
कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले लागूऔषध नियन्त्रणका लागि समाजका सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताए। उनले लागूऔषध नियन्त्रण गर्ने कार्य गृह मन्त्रालय र सुरक्षा निकायबाट मात्र सम्भव नभएको भन्दै सवै यसमा लाग्नुपर्ने बताए।
गृहसचिव लोकदर्शन रेग्मीले विश्वमा लागूऔषध प्रयोगका कारण ठूलाठूला घटना घटेको भन्दै यसलाई नियन्त्रण गर्न गृह मन्त्रालयले महत्वपूर्ण भूमिका खेलिरहेको बताए।
गृह मन्त्रालयको आयोजनामा आज देशभर नै लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहेको छ।
लागूऔषध नियन्त्रण शाखाले आर्थिक वर्ष २०७३/७४ मा १९ जिल्लामा गाँजा र अफिम नष्ट, करिव १० हजार विद्यार्थी तथा युवालाई यस सम्बन्धी चेतनामूलक कार्यक्रम, पूर्वलागूऔषध प्रयोकर्ताबाट तालिम प्रदान तथा ५० भन्दा बढी पुनःस्थापना केन्द्रको अनुगमन गरेको जनाएको छ ।
मन्त्रालयले सन् २०११ देखि २०१६ सम्म लागुऔषध प्रयोग गरी जेलपर्नेको सङ्ख्या १५ हजार ४९३ पुगेको जानकारी दिएको छ।
त्यसअघि लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सचेतना जगाउने उद्देश्यले रत्नपार्कबाट बाजागाजासहित निस्केको पदयात्रा असन, जमल, दरबारमार्ग हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान पुगेर सम्पन्न भएको थियो । रासस