नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको कार्यभार सम्हालेको १९ दिन भयो। साइत हेरेर सरकारी निवासमा सरेको सात दिन भयो। यो साइतले पनि कालो बोकोको विवाद सिर्जना गर्यो। खास गरेर, विरोधीहरु उनले कालो बोको बली चढाएर सरकारी निवास प्रवेश गरेकोमा रुष्ट थिए। प्रधानमन्त्री देउवा आस्तिक हिसाबका व्यक्ति हुन्। नेपाल धर्म–निरपेक्ष राष्ट्र भएपनि यहाँ धार्मिक स्वतन्त्रता छ। प्रधानमन्त्रीले धर्मप्रति आफूले पालना गनुपर्ने मर्यादा राख्दछन् भने त्यसले कसैको टाउको दुखाउनुपर्ने होइन।
अहिले उनी सिंहदरवारको तातो कुर्सी छाडेर गृह जिल्लामा पुगेका छन् दोस्रो चरणको चुनाव कांग्रेसको खातामा पार्न। शासन सत्ताको त्यो तातोे कुर्सी कसैले एक घण्टाका लागि पनि छोडन चाहँदैन। तर, प्रम देउवा त्यो कुर्सी त्यत्तिकै छाडेर डडेलधुरा पुगेका छन्। प्रधानमन्त्रीको कुर्सी सर्वोच्च हो। त्यो कुर्सीका लागि नेपालमा कोतपर्व लगायतका पर्व र 'कू'हरु भएका छन। प्रजातन्त्रको पुनर्स्थापनापछि त राणाकालीन पर्वहरुलाई पनि माथ गर्ने हिसाबले 'कू' भएका छन् देशमा। पच्चीस वर्षको अवधिमा दर्जनौं पटक प्रधानमन्त्री फेरिनु हाम्रो प्रजातन्त्र र हाम्रो लोकतन्त्रमा नै सम्भव होला।
देउवा जतिबेला प्रधानमन्त्री भएका थिए पहिलो पटक, त्यसको अठार महिनापछि उनको शासन दुईजना सांसदले भत्काइ दिएका थिए। प्रम देउवाको पक्षमा विश्वासको मत हाल्नु पर्ला भनेर उनीहरु लुकेर बसे। संसद नै गएनन्। त्यो एउटा ग्य्राण्ड डिजाइन थियो त्यतिबेलाको। यतिबेला उनको शासन भत्काउने कोही देखिएका छैनन्। तैपनि, भन्न केही सकिँदैन। राजनीति त सँधै सम्भावनाकै खेल हो। अहिले त झन् प्रम देउवा विरुद्ध प्रमुख प्रतिपक्षी आक्रामक छ। कमल थापाहरु सरकारमा छैनन्। पूर्व राजा ज्ञानेन्द्रले अरु कुनै पनि प्रधानमन्त्रीलाई दोष नलगाई प्रम देउवाको नामै किटेर असक्षमको पगरी गुताइ दिएका हुन्। पूर्व राजाको यो दुष्टतालाई आधार बनाएर विभिन्न पार्टीका केही नेता, केही राष्ट्रवादी बुध्दिजीवी, केही हरुवा–चरुवाहरु प्रम देउवाको आलोचना गर्छन्। यो स्वाभाविक होइन। राजाको दुष्ट दृष्टिमा सबै लोकतन्त्रवादी नेता असक्षम नै हुन्छन। राजाका लागि सक्षम हुने नेता खोज्न २०१७ सालतिर फर्किनु पर्ने हुन्छ।
तर, प्रम देउवाको समस्या अरुका हरुवा–चरुवाले भन्दा आफनै हरुवा–चरुवाले बढाएका छन्। आफूलाई प्रम देउवाको शुभचिन्तक बताउने एकथरी व्यक्तिहरु उनले राजनीतिक, आर्थिक र प्रेस सल्लाहकार नराखेकोमा क्षुब्ध छन्। ‘यस्तो तरिकाले पनि सरकार चल्छ ? डुबाउने भए बूढाले पार्टीलाई’ उनीहरु चिन्ता व्यक्त गर्दछन्। अर्काथरी प्रम देउवाले ‘सल्लाहकार समूह’ बनाएर पार्टीका विज्ञ साथीहरुलाई त्यसमा भर्ना गर्नुपर्ने राय दिइरहेका छन्। उनीहरुको भनाइ छ, ‘यस्तो कुरामा प्रमले तेरो मेरो गर्नु हुँदैन। पौड्याल पक्षका साथीहरुलाइ पनि स्थान दिनु पर्दछ।’
प्रम देउवाले जम्माजम्मी आधा सरकार चलाइरहेका छन्। बाँकी आधामा सहयागी माओवादीको ‘लायन्स शेयर’ छ। सरकारमा अरु पार्टीलाई समेत एडजष्ट गर्नुपर्नेछ। विजय गच्छदार, कमल थापा र एक सिटे दुइ सिटे पार्टीलाई मिलाएर नलगे समायोजन मिल्दैन। मिलाएर लग्न खोजे पव्लिक कराउन थाली हाल्छ। भ्रष्टाचार विरुद्ध जनता आन्दोलित छ। जनतालाई आन्दोलित गराउने चाहीं आफैं निर्लिप्त छ भ्रष्टाचारमा। यस्तो अवस्थामा सरकार प्रमुखले गर्नु के? आफनै पार्टीमा मन्त्री बन्न राजनीतिग र्ने धेरै छन्। तिनलाई जोगी बन्न जाऊ भन्न पक्कै मिल्दैन। अब चुनावको लगत्तै, परिणाम पनि नपर्खीकन, सरकारको विस्तार गर्नैपर्नेछ। प्रम देउवाका लागि यो नै सबभन्दा कष्टकर क्षण बन्नेछ। यसमा कुनै आश्चर्य छैन। सानो आकारको मन्त्रिपरिषद बनाएर यी कष्टहरुको अन्त्य हुन सक्दैन। संविधानले तोकेकै संख्यामा मन्त्री बनाउँदा आकांक्षीहरुले उठाउने छाल र तूफान सम्हाली नसक्नु हुनेछ। प्रम देउवाले आफनो गृह जिल्लाको सन्तुलन मिलाउन प्रादेशिक र संघीय सरकारमा साथीहरुलाई एडजष्ट गरिने बताएका छन। त्यो अहिलेको होइन, माघको कुरा भयो। त्यतिबेला पनि एडजष्ट हुन्छ भन्ने के विश्वास भो र ?
चुनाव सकिएको छैन। एउटा प्रदेशमा तेश्रो चरणमा चुनावगर्ने योजना छ। वर्षात सकिएपछि असोजमा। त्यो चुनावको पूर्व शर्त वनेको छ संविधान संशोधन। संविधान संशोधन भएन भने त्यो चुनाव हुन्छ कि अडकिन्छ ? राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमको विवादका कारण कतिपय मधेशी नेता एमाले प्रवेश गर्दैछन्। चुनाव हुने दिनसम्म राजनीतिक समीकरणको निर्माण कसरी हुने हो ? हेर्न लायक घटना नै यही हुनेछ। त्यसपछिका दुई चुनाव छन्। प्रादेशिक र संघीय। प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद – पार्टी सभापतिले साथीहरुलाई पुरस्कृतगर्ने ठाउँ धेरै छन्। संघीयमा पनि त्यही हो र त्यस्तै हो। सबै चुनावको अन्त्य नभएसम्म प्रम देउवाको मन अशान्त नै रहनेछ। आखिर राज्यको पुनर्संरचना पो हो त। ठट्टा होइन।
मानिसहरु प्रम देउवाका अघिल्ला शासन कालका परिदृश्यहरु सम्झिन्छन। सम्झिनै पर्दछ। तर, त्यो समयको अप्ठेरो बुझेर। प्रम देउवा ‘पोलिटिकल एलिट’ लाई मनपर्ने व्यक्ति होइनन। उनको वैवाहिक सम्वन्ध घरानियाँ परिवारसंग भएपनि उनी सामान्य मानिस हुन्। यी सामान्य मानिसबाट नयाँ नेपाल निर्माणका लागि के के काम हुनेछन्? त्यो भन्न सकिदैन। किनभने, उनले नेतृत्व गरेको पार्टीमा हुनुपर्ने सुधार भएका छैनन। सरकारमा उनको नेतृत्वले अहिलेसम्म अपेक्षित उत्साह जगाउन सकेको छैन।
अब बाँकी चुनाव पछि।