PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

बनेपा र पनौतीका वासिन्दा धमिलो पानी पिउन बाध्य



रासस

बनेपा र पनौतीका वासिन्दा धमिलो पानी पिउन बाध्य

बनेपा : वर्षायाम सुरु भएसँगै काभ्रेको बनेपा र पनौती नगरपालिकाका उपभोक्ताले धमिलो र लेदो पानी पिउन बाध्य भएका छन्। 

खानेपानीको चरम सङ्कट रहेको बनेपा र पनौती नगरपालिकामा वर्षौंदेखि खानेपानी संस्थानले वर्षाको समयमा धमिलो र लेदो पानी वितरण गर्दा मानव स्वास्थ्यमासमेत नकारात्मक असर परेको छ। 

खानेपानी संस्थान बनेपा शाखाका प्रमुख बुद्धरत्न महर्जनले खानेपानी छान्ने फिल्टर नभएका कारण धमिलो खानेपानी वितरण भएको उल्लेख गर्दै काभ्रे उपत्यका खानेपानी परियोजना पूरा भएपछि मात्रै गुणस्तरीय खानेपानी वितरण हुन सक्ने बताए। 

उनले फिल्टर नभएका कारण वर्षायाममा सिधै खानेपानी उपभोक्तासमक्ष वितरण गरेको जानकारी दिँदै अझै केही वर्ष यो समस्याको समाधान नहुने बताए। 

बनेपा र पनौती नगरपालिकामा अहिले खानेपानी संस्थानबाट करिब दुई लाख लिटर खानेपानी बितरण हुँदै आएको छ। काभ्रे उपत्यका एकीकृत खानेपानी निर्देशक समितिका संयोजक अशोक ब्याञ्जुले एकीकृत खानेपानी परियोजनाको ६४ प्रतिशत काम पूरा भएको जानकारी दिँदै आगामी डिसेम्बरसम्ममा खानेपानी परियोजनाको काम सम्पन्न हुने बताए। 

उनले परियोजना सकिएपछि बनेपा, पनौती र धुलिखेल नगरपालिकाका १० हजार उपभोक्ताको घर घरमा गुणस्तरीय खानेपानी उपलब्ध गराउने उल्लेख गर्दै तीन वर्षदेखि निर्माण कार्य जारी रहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell