PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

एसीपिएल : नेपाल स्ट्रोमको लगातार तेस्रो जित



पहिलोपोस्ट

एसीपिएल : नेपाल स्ट्रोमको लगातार तेस्रो जित

काठमाडौं : सातौँ नम्बरमा ब्याटिङ गरेका जितेन्दर शर्माले आक्रमक अर्धशतक बनाएपछि एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेटमा नेपाल स्ट्रोमले लगातार तेस्रो जित हासिल गरेको छ।

शर्माको नटआउट ५७ रनको मद्दतमा नेपाल स्ट्रोमले इन्डियन स्टार्सलाई ४ विकेटले पराजित गर्दै अपराजित यात्रालाई कायम राखेको हो। जितपछि ३ खेलबाट ६ अंक जोडेको नेपाल स्ट्रोम अंक तालिकामा शीर्ष स्थानमा आसिन छ।

यता इन्डियन स्टार्सको यो लगातार तेस्रो हार हो। स्टार्स अहिलेसम्म अंकको खाता नखोल्ने एक मात्र टोली समेत हो।

१ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवाती ४ विकेट सस्तैमा गुमाएको नेपाल स्ट्रोमका लागि शर्मा र अमरसिंह राउटेलाले सातौँ विकेटका लागि २३ बलमा नटआउट ५५ रनको साझेदारी गरे। सुरुवाती विकेट गुमाएपनि घरेलु दर्शकको साथ पाएको नेपाल स्ट्रोमले उत्कृष्ट पुनरागमन गरेको हो।

शर्माले २४ बलमा नटआउट ५७ तथा अमर सिंहले १० बलमा नटआउट २१ रन बनाए। त्यसबाहेक परेश लोहनीले २६ तथा भिनित ध्यानीले २४ रनको योगदान गरे। यी दुईले पाँचौ विकेटका लागि ४० बलमा ५९ रनको साझेदारी गरे।

इन्डियन स्टार्सका लागि सचिन कुमार र अमनदीप सिंहले २-२ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थति टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इन्डियन स्टार्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। इन्डियन स्टार्सका लागि ओपनर ए करनवालले सर्वाधिक ५९ रन बनाए। करनवालले पहिलो विकेटका लागि कप्तान स्वप्निल पाटिलसँग ९१ रनको साझेदारी गरेका थिए। पाटिलले ३३ रन बनाए।

यस्तै सिमरत ३७ रनमा नटआउट रहे। सिमरतले तेस्रो विकेटका लागि पुनितसँग नटआउट ७७ रनको साझेदारी गरेका थिए। नेपाल स्ट्रोमका लागि गौरब बारबाडेले २ तथा नेपाली अमरसिंह राउटेलाले १ विकेट लिए। प्रतियोगितामा नेपाली खेलाडी अमरसिंहको यो पहिलो खेल हो। जहाँ उनले बल र ब्याट दुबैमा उत्कृष्ट प्रदर्शन गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell