जाजरकोटः दरबन्दी अभावमा जाजरकोटको छेडागाड नरपालिका–१ स्वडारीमा रहेको कालिका माध्यामिक विद्यालय दुई वर्षदेखि खोटो संकलन गरी विक्रि गरेको रकमले सञ्चालन हुँदै आएको छ।
सामुदायिक वनमा रहेको सल्लाको खोटो विक्री गरी सामुदायिक वन उपभोक्ता समितिलाई नियमितरुपमा हुने आम्दानीबाट शिक्षकलाई तलब दिन थालिएको हो।
विसं २०३९ मा प्रावि तह सञ्चालन भएको यो विद्यालयमा २०७२ सालमा मावि तह बनेको थियो। विद्यालयमा अहिले विद्यार्थीको संख्या ४३६ छ।
विद्यालयमा प्रावि दुई स्थायी र एक अस्थायी दरबन्दीका शिक्षक छन् भने निजी स्रोतबाट मावि तीन, निमावि तीन र प्रावि एक शिक्षकलाई नियुक्ति गरेर विद्यालय सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद शर्माले जानकारी दिए।
विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सल्लाका खोटाको आम्दानी र गाउँमा आएको विकास निर्माणको कामलाई श्रमदान गरेर बाँकी रहेको रकम विद्यालयको खातामा राखेर निजी स्रोतका शिक्षकलाई तलब खुवाउने गरेको अध्यक्ष शर्माले बताए। रासस