काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलो नहुन चेतावनी दिएका छन्।
प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचनका बेला दोलखामा आफ्ना कार्यकर्ता मारिएको विषय स्मरण गर्दै सरकार उत्ताउलो र अराजक भएको बताए।
ओलीले भने,‘काल आएपछि छिचिमिराको पनि पखेटा पलाउँछ, ज्यानमारा तानाशाही प्रवृत्तिले चल्दैन।’ ओलीले चेतावनी दिदै भने, 'हाम्रो पनि धैर्यताको सीमा हुन्छ यो अचाक्ली भयो।'
सरकारविरुद्ध खरो टिप्पणीमा उत्रिएका ओलीले यो सरकारलाई सद्धाम हुसेनसँग तुनाला गरे। ‘यो सरकार र सद्दाम हुसेनको सरकारमा के फरक भयो र?,’ ओलीले प्रश्न गरे।
मुलुकमा विभिन्न स्थानमा बम विष्फोट हुँदासमेत सरकार मौन बसेको भन्दै ओलीले प्रश्न गरे, 'सरकार भनेको के हो? बम कसले राख्यो, किन राख्यो, सरकार केही जवाफ समेत दिँदैन। बम राख्ने र राज्य आतंक मच्चाउने को हो, म प्रश्न गर्न चाहन्छु।'
उनले थपे, ‘अस्ति म बुटवल जाँदा स्टेजको पछाडि बम भेटियो। तर सरकार यसबारे केही बोल्दैन।’
अध्यक्ष ओलीले निर्वाचन आयोगको काम बाकस थाप्ने मात्र नभएको भन्दै निष्पक्ष निर्वाचन गरी देश दुनियाँलाई अनुभूत गराउनु पर्ने बताए।
'एमाले निर्वाचन आयोगलाई कुनै अवाञ्छित दवाब दिँदैन र अनावश्यक रुपमा आफ्नो काम गराउन दवाब पनि दिँदैन,' ओलीले भने, 'शान्तिपूर्ण निर्वाचन गराउने हाम्रो माग हो।'
अध्यक्ष ओलीले संविधान संशोधनको विषय पाखुरा सुर्केर नहुने भन्दै आवश्यक देखिएमा छलफल गर्न सकिने बताए।
ओलीले मधेसकेन्द्रित राजपाबाट स्वतन्त्र उम्मेदवारी आउनु सकारात्मक भन्दै निर्वाचनका गतिविधिमा अवरोध पुर्याउने काम नगर्न मधेसी दललाई आग्रह गरे।
उनले विभिन्न देशमा रहेका नेपाली राजदूतलाई चुनावमा भोट माग्न भन्दा पनि दुई देशबीचको सम्बन्ध सुधार्न तर्फ लाग्न चेतावनी दिन भ्याए।