PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

संविधानको व्यवस्था कार्यान्वयन नभएपछि निर्वाचन आयोगले दियो यस्तो आदेश



रमेश वाग्ले

संविधानको व्यवस्था कार्यान्वयन नभएपछि निर्वाचन आयोगले दियो यस्तो आदेश

काठमाडौँ : संविधानले गाउँपालिका र नगरपालिकाको चुनावको अन्तिम परिणाम आएको मितिले ३० दिनभित्र जिल्ला सभा बैठक बोलाउने व्यवस्था कार्यान्वयन नभएपछि निर्वाचन आयोगले तीन दिनभित्र बैठक बोलाउन आदेश जारी गरेको छ। 

आयोगले हिजोको बैठकको निर्णय आज सार्वजनिक गर्दै निर्वाचन सम्पन्न भएका जिल्लाहरुमा तीन दिनभित्र जिल्लासभा बोलाउन निर्देशन दिएको हो। 

स्थानीय तह अन्तर्गत गाउँपालिका र नगरपालिकाबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष सदस्य रहने जिल्ला सभा बोलाएर जिल्लासभामा रहने संख्याको यकिन विवरण जानकारी दिन आयोगले आदेश दिएको छ। 

'गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भएका जिल्लामा तीन दिनभित्र जिल्लासभाको बैठक बोलाई जिल्लासभाको पहिलो बैठकबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या निर्धारण गरी त्यसको जानकारी आयोगमा पठाउन सम्बन्धित जिल्लाका स्थानीय विकास अधिकारीहरुलाई निर्देशन दिने गरी आदेश जारी गर्ने निर्णय गरेको छ,' आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

असार ११ गते बसेको आयोगको बैठकले 'निर्वाचन आयोग ऐन, २०७३ को दफा ४९ बमोजिम त्यस्तो आदेश जारी गर्ने' र 'जारी गरिएको आदेश नेपाल राजपत्रमा अतिरिक्ताङ्कमा  प्रकाशन गर्ने' निर्णय गरेको हो।

आयोगले प्रचलित संघीय कानूनमा जिल्लासभाको बैठक कसले बोलाउने भन्ने किटानी व्यवस्था नभएको उल्लेख गर्दै जिल्लासभाको बैठक बसी संख्या निर्धारण नभएसम्म जिल्ला समन्वय समितिको निर्वाचनसम्बन्धी कारबाही अगाडि बढाउन नसकिने देखिएको बताएको छ। 

उसले त्यही कारण बैठकका लागि आयोगले त्यस्तो आदेश जारी गर्ने निर्णय गरेको पनि जनाएको छ। 

नेपालको संविधानको धारा २२० को उपधारा (३) मा 'जिल्लासभाले बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने' व्यवस्था रहेको र त्यो प्रयोजनका लागि जिल्लासभाको बैठक बसी सदस्य संख्या निर्धारण गर्नुपर्ने व्यवस्था छ। 

संविधानको धारा २२०को उपधारा (२) मा गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीस दिनभित्र जिल्ला सभाको बैठक बस्ने व्यवस्था रहेको छ। कतिपय जिल्लामा त्यो अवधी नाघि सक्दासमेत जिल्ला सभाको बैठक नबसेपछि आयोगले आदेश जारी गरेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell