PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

एसीपिएल : अफगानिस्तान बुल्सको दोस्रो जित



पहिलोपोस्ट

एसीपिएल : अफगानिस्तान बुल्सको दोस्रो जित

काठमाडौं : अफगानिस्तान बुल्सले एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ। सोमबार भएको दोस्रो खेलको निकै नाटकिय अन्तिम ओभरमा २२ रन प्रहार गर्दै अफगानिस्तानले दुबई वारियर्सलाई  ४ विकेटले हराएको हो।

जितपछि अफगानिस्तान बुल्सले ४ खेलबाट ४ अंक नै जोडेको छ। यता दुबई वारियर्सको ३ खेलमा यो दोस्रो हार हो।

१ सय ६२ रनको लक्ष्य अफगानिस्तान बुल्सले एक बल अगावै ६ विकेट गुमाएर पूरा गर्यो। अन्तिम ओभरमा अफगानिस्तान टोलीले तीन पटक 'फ्रि हिट'को अवसर पाएको थियो।

दुबई वारियर्सका खसिस मिधाले बलिङ गरेको अन्तिम ओभरको चौथो बलमा अफगानिस्तानका कप्तान रान नाभिद उस हसनले छक्का प्रहार गर्दै जित नजिक पुर्‍याएका थिए। पाँचौ बलमा नाभिदले दुई रन लिदै जित दिलाएका हुन्।

त्यसअघि अफगानिस्तान बुल्सका लागि मोहम्मद फरानले ४३ तथा मनहराले ३७ रन बनाएका थिए। बलिङमा दुई वारियर्सका अली मलिकले २ विकेट लिए।

कीर्तिपुरस्थित टीयू मैदानमा पहिले ब्याटिङ गरेको दुबई वारियर्सले कप्तान अब्दुर शाकुर र इजाजको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो। 

दुबई वारियर्सका लागि दावद इजाजले सर्वाधिक ६६ रन बनाए।  जारी प्रतियोगितामा उनको यो लगातार तेस्रो अर्धशतक हो। यस्तै कप्तान शाकुरले ५० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

बलिङमा अफगानिस्तानका पवन यादवले ३ विकेट लिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell