PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

अशक्त मतदातालाई मतदानस्थलसम्म पुर्‍याउन मानवअधिकार आयोगको आग्रह



अनन्तराज न्यौपाने

अशक्त मतदातालाई मतदानस्थलसम्म पुर्‍याउन मानवअधिकार आयोगको आग्रह

विराटनगर : नेपाल मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकलगायत अशक्त मतदातालाई मतदानस्थलसम्म पुर्‍याउन आवश्यक व्यवस्था गर्न माग गरेको छ।

आयोगका सदस्य सुदीप पाठकको नेतृत्वको टोलीले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो।

प्रदेश १ का पहाडी जिल्लामा साढे चार किलो मिटर हिँडेर मतदान स्थलसम्म पुग्नुपर्ने बाध्यता देखिएको उल्लेख गर्दै सदस्य पाठकले यसबाट मतदाताको अधिकारको सुरक्षा हुन नसक्ने दाबी गरे।

‘कतिपय ठाउँमा खोला तरेर मतदान गर्नुपर्ने देखिएको छ र अहिले मनसुनको समय छ’, उनले भने, ‘यस्तो बेलामा खोला बढेका हुन्छन् । ज्यान जोखिममा राखेर मतदाता आफ्नो केन्द्रमा पुग्नुपर्ने बाध्यता छ । कतिपय त नजान पनि सक्नुहुन्छ।’

मतदाताले आफू भिजेकै अवस्थामा मतपत्रमा छाप लगाउँदा मत बदर हुनसक्ने स्पष्ट पार्दै सदस्य पाठकले यसलाई रोक्न आवश्यक रुमाल र तौलियाको बन्दोबस्त गरिनुपर्ने तथा मतदातालाई भिजेकै अवस्थामा मतदान गर्न दिनु नहुने सुझाव दिए।

मतगणना गर्दा अघिल्लो निर्वाचनको मतगणनासमेतलाई ध्यानमा राख्नुपर्ने पाठकको सल्लाह छ । 

उनले भने, ‘मुख्य निर्वाचन अधिकृतले मतगणना प्रतिनिधिलाई फोटोसहितको परिचयपत्रको व्यवस्था गर्नुपर्छ र मतगणनाको सुरक्षाका लागि विशेष व्यवस्था गर्नुपर्छ ।’

उनले मतगणनास्थलमा सिसी टिभीको प्रयोग उपयुक्त हुने सुझाव दिए ।

‘प्रचारप्रसारका कार्यमा बालबालिकाको प्रयोग अझै रोकिएको छैन’, प्रदेश नम्बर १ का तीन पहाडी र छ मधेसी जिल्लाको भ्रमणपछि पाठकले सञ्चारकर्मीलाई भने, ‘ताप्लेजुङ र पाँचथरमा विद्यालय परिसरलाई सभास्थलका रूपमा प्रयोग गरी पढाइ अवरूद्ध गरिएको छ। साथै विद्यालय परिसर फोहर बनाएर त्यत्तिकै छाड्ने गरेको पाइएको छ। प्रचारप्रसारका क्रममा भेस्ट, टोपी, भित्ते लेखन, फ्लेक्स, ब्यानरको प्रयोग गरिएको छ र ठूलो आवाजमा लाउडस्पिकरको प्रयोग गरिएको पाइएको छ।’

केही जिल्लामा निजामति कर्मचारी तथा शिक्षक, निर्वाचन पर्यवेक्षक र सञ्चारकर्मीसमेत आमसभा र प्रचारप्रसारका गतिविधिमा सहभागी भएको उनले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell