
बैतडी असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि बैतडीमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बसेको बैठकमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन आयोगले खटाएको अनुगमन समितिका संयोजक, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
बैठकमा चुनावको सुरक्षा व्यवस्था पूर्ण तयार भएको जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
यस्तै, मौन अवधि शुरु भएकाले मौन अवधिको पूर्ण पालनाका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।
मतदान सम्पन्न भइसकेपछि केही स्थानका मतपेटिकाहरु हेलिकप्टरबाट ढुवानी गर्ने अवस्था आएमा हेलिकप्टरमा एजेण्टहरुका लागि ठाउँ नहुने भएकाले एजेण्टबिना हेलिकप्टरबाट मतपेटिका ढुवानी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
सीमा-नाका बन्द
स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आजदेखि भारतसंग सीमा जोडिएको झुलाघाट नाकामा आवतजावत बन्द गरिएको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सीमा नाकामा आवतजावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।
भारतसँग सीमा जोडिएको नाकाबाट चुनावी सुरक्षालाई प्रभाव पार्न सक्ने गतिविधि हुनसक्ने भन्दै सीमानाका बन्द गरिएको हो। आजदेखि असार १५ गते बिहान ७ बजेसम्म सीमानाका बन्द रहनेछ।
इलामका सीमा नाकाहरू पनि बन्द
यसैबीच, इलामबाट प्राप्त समाचार अनुसार दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएको छ।
भारतसँग सीमा जोडिएका पूर्वका पशुपतिनगर, छब्बिसे, हिले, मानेभञ्ज्याङलगायतका एकदर्जन भन्दा बढी नाका बन्द गरिएको हो। निर्वाचनको समयमा सीमा क्षेत्रबाट कुनैपनि अप्रिय घटना नहोस् र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्न सीमा नाका बन्द गरिएको सुरक्षा समितिका संयोजक प्रजिअ जनकराज दाहालले बताए।
दाहालका अनुसार जिल्ला सुरक्षा समितिले अहिले निर्वाचनलाई भयरहित र निष्पक्ष उद्देश्यले सुरक्षा रणनीति पनि तयार पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ छन्।
सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करीलगायत घटना हुन नदिन विशेष निगरानी बढाइएको सुरक्षा समितिले जनाएको छ। रासस