PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

‘देवी र रेणुको भाग्य’ बुद्ध एयरको जहाजमा, च्यातिएका मतपत्र काठमाडौं पठाइयो



राजेन्द्र आचार्य

‘देवी र रेणुको भाग्य’ बुद्ध एयरको जहाजमा, च्यातिएका मतपत्र काठमाडौं पठाइयो
तस्बिर: राजेन्द्र अाचार्य

चितवन: सर्वोच्च अदालतको आदेश अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्र काठमाडौँ पठाइएको छ। प्रहरीको सुरक्षा घेराभित्र बुद्ध एयरको नियमित उडानबाट मतपत्र काठमाडौँ पठाइएको हो। अदालतको आदेश अनुसार मतपत्र इजलासमा पेस हुनेछन्।

मंगलबार बिहान बुद्ध एयरको ८ः१५ को नियमित उडानबाट मतपत्र काठमाडौं लगिएको हो। 


अदालतको आदेश अनुसार च्यातिएका मतपत्रसँगै मतगणना स्थगित मुचुल्का, गणना स्थगित गर्ने मुख्य निर्वाचन कार्यालयको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन पनि अदालत पठाइएको छ। 

सर्वोच्च अदालतले असार ६ गते एक साताभित्र च्यातिएका मतपत्रसहितका कागजात अदालतमा पठाउन आदेश गरेको थियो। 



जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ। भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो। 

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। पुनः मतदानको निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए। जेठ २० गते दायर मुद्दाको पेसी बुधबारका लागि तोकिएको छ।

अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त अन्तरकालीन आदेशले निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ। अन्तरकालीन आदेश बदर भएमा भरतपुर १९ पुनः मतदान हुनेछ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell