
चितवन: मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिक साढे दुईकिलो भन्ने स्थानमा पहिरो गएपछि आज बिहान ७:३० बजेदेखि अवरुद्ध भएको सडक केही समय अगाडि खुलेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार गत शुक्रबार बिहान पहिरो खसेको ठाउँमा पुनः पहिरो गएको थियो। उक्त ठाउँमा गत शुक्रबार बिहान १ः०५ बजेको समयमा पहिरो खसेर प्रहरीको भ्यानसहित चार प्रहरीलाई पुरेको थियो। तीन प्रहरीको मृत्यु भएको छ भने एक अझै बेपत्ता छन्।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सिमसिम पानी परेको तर पहिरो ठूलो नभएकाले तुरुन्तै खोल्न सकिएको हो। सो सडकको अवस्थाको बारेमा आजै संसदको विकास समितिले अनुगमन समेत गर्ने भएको छ। रासस