
काठमाडौँ: भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्र सर्वोच्च अदालतमा पुर्याइएको छ। मंगलबार बिहान बुद्ध एयरको ८ः१५ को नियमित उडानबाट मतपत्र काठमाडौँ ल्याइएको थियो।
बिहान १० बजे च्यातिएको मतपत्रको पोको सर्वोच्च अदालतमा पुर्याइएको छ। सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले मतपत्रसहितको माग अनुसारका कागजात अदालतमा पेस गरिएको बताए। मतपत्र भोलि इजलासमा पेस हुनेछ।
सुरक्षाकर्मीको रोहबरमा काठमाडौँ ल्याइएको मतपत्र अन्तराृष्ट्रिय विमानस्थलमा निर्वाचन आयोगका कर्मचारी र प्रहरीले बुझेका थिए। आयोग कर्मचारी र प्रहरीले महान्यायाधिवक्ता कार्यालयको समन्वयमा मतपत्रको पोको सर्वोच्च पुर्याएका हुन्।
अदालतको आदेश अनुसार च्यातिएका मतपत्रसँगै मतगणना स्थगित मुचुल्का, गणना स्थगित गर्ने मुख्य निर्वाचन कार्यालयको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन पनि अदालतमा पेस गरिएको छ।
सर्वोच्चले असार ६ गते एक साताभित्र च्यातिएका मतपत्रसहितका कागजात अदालतमा पठाउन आदेश गरेको थियो।
जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ। भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो।
मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। पुनः मतदानको निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए। जेठ २० गते दायर मुद्दाको पेसी बुधबारका लागि तोकिएको छ।
अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त अन्तरकालीन आदेशले निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ। अन्तरकालीन आदेश बदर भएमा भरतपुर १९ पुनः मतदान हुनेछ।