इलाम : अज्ञात समूहले इलाम नगरपालिकाका दुई स्थानमा सवारीसाधनमा गएराति आगजनी गरेको छ।
अज्ञात समूहले इलाम नगरपालिका–१ पुवाखोला र इलाम नगरपालिका–१० गोदकमा रोकिराखेका सवारीसाधनमा आगजनी गरेको हो।
मेची राजमार्गको पुवाखोलामा ना २ ख ७८३२ नम्बरको ट्रक र गोदकमा बा १० च ८१९४ नम्बरको महिन्द्रा पिकअप भ्यानमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए।
झापाको विर्तामोडबाट निर्माण सामग्री लिएर ताप्लेजुङ गइरहेको ट्रकमा आगजनी भएको हो। आगजनीबाट ट्रक पूर्णरूपमा क्षति भएको छ। मेची राजमार्गको गोदक सडकखण्डमा दैनिक उपभोग्य सामग्री बोकेर इलाम गइरहेको पिकअप भ्यानमा आगजनी हुँदा सामान्य क्षति पुगेको छ। रासस