काठमाडौंः निर्वाचन आयोगले मतदानका लागि मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न यस्तो निर्णय लिएको आयोगले जनाएको छ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ ।
साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन आयोगले सम्बन्धित सबैलाई जानकारीसमेत गराएको छ।