
काठमाडौं: 'प्रेमगीत' र प्रेमगीत सिक्वेल निर्माता सन्तोष सेन अहिले फिल्मको दोस्रो संस्करण प्रचारमा व्यस्त छन्। फिल्म कम्पनी र व्यक्तिगत तर्फबाट उनी 'प्रेमगीत २'को प्रोमोशनमा लागि परेका छन्। उनको लागि प्रेमगीत सिक्वेल साहसको परिणाम हो। भन्छन्,'फिल्म बनाएर मैले पाएको केही पनि नै छैन। तर पनि नेपाली फिल्म उद्योगलाई एउटा उचाईमा पुर्याउनु छ।'
फिल्म क्षेत्रमा भविष्य खोजिन्छ भने वर्तमान बनाउने हिम्मत राख्नुपर्ने सन्तोष सेनको तर्क छ। हुन पनि सन्तोष सेनले फिल्म क्षेत्रमा केही कमाएका छैनन् भन्ने कुरा बक्सअफिस नतिजाले प्रस्ट पार्छ। सन् २०१५ रिलिज प्रेमगीतमा डेढ करोड लगानी गरेका थिए। नेट कमाई गरे ६० लाख। भन्छन्,'७०/८० लाख घाटा वेहोर्नु परेपनि फिल्मको नाम, गीत चल्यो। त्यतिमै खुशी थिएँ।' फिल्मले राम्रो व्यवसाय नगर्नुको एउटा कारण पाइरेसी पनि थियो। सन्तोष सेनको बुझाई हो,'फिल्ममा लगानी गर्नुनै फिल्म क्षेत्रलाई उद्योगको रुपमा स्थापना गर्नुको मुख्य तरिका हो।' त्यसैले उनको अर्को फिल्म बन्यो 'शङखे चङ्खे पङ्खे'। फिल्मले त झन् १५ लाख नेट पनि उठाएन। 'त्यो पैसा त लिन पनि लाज लाग्यो।'
उनको योजना थियो प्रेमगीतको सिक्वेल बनाउने। पैसा नकमाए पनि ब्राण्ड बनेको थियो त्यो नाम। त्यसैले सिक्वेल राम्रो होला भन्ने उनको आश। तर भयो के भने 'प्रेमगीत २' नाममा अर्कै कम्पनीले फिल्म दर्ता गरिदियो। जसका कारण केही समय उनी आन्तरिक द्वन्द्वमा रहेको उनको दाबी छ। भने,'मुद्दा मामिलामा लाग्नु अघि व्यक्तिगत सहमतीमा फिल्मको नाम आसुशेन फिल्मसको बनाइयो।' आफूले गरेको लगानीबाट कमाएको त्यै फिल्मको नाम पनि अरुले दर्ता गर्दाको क्षण सम्झदा उनी केही आक्रोशित लाग्छन्।
अन्तत 'प्रेमगीत २' सन्तोष सेनकै बन्यो। फिल्ममा उनले तीन करोड लगानी गरेका छन्। फिल्मको लागि गरेको मिहेनेत सम्झदै लगानी उठ्ने आश व्यक्त गर्छन् उनी। 'प्रचार राम्रो गर्न सकियो भने थाइल्यान्ड र बर्माबाटै फिल्मको लगानी उठ्छ। त्यहाँ नेपाली फिल्म दर्शक फ्लो राम्रो छ।' फिल्मको २५/२५ प्रतिशत छायांकन थाइल्यान्ड र म्यानमारमा गरिएको छ भने ५०% नेपालमा। सन्तोष सेनले खर्च बारे प्रष्ट पार्दै भने,'तीन घण्टामा थाइल्यान्ड पुगेर छायांकन गर्नुभन्दा तीन दिन लगाएर रारा पुगेर छायांकन गर्नुको खर्च बढी पर्यो।'
प्रेमगीत दुईको थिएटरिकल, ओभरसिज सहित अन्य डिजिटल राइट्स हाइलाइट्स नेपालले किनिसकेको छ। युनिटले फिल्म राइट्स ७० लाखमा बेचेका हुन्। उनका अनुसार बर्माको भाषमा समेत फिल्म डब हुने प्रक्रिया चलेको छ। त्यस्तै भारतिय टिभी एबीवानले फिल्मको गीत र ट्रेलर प्रशारण गरिरहेको छ। कारण भारतिय भाषामा डब भएर समेत फिल्म प्रदर्शन हुने संकेत हो।
फिल्ममार्फत सन्तोष सेनले अभिनयमा डेब्यु गरेका छन्। फाइटरको भूमिकामा देखिनका लागि उनले ६ महिने ट्रेनिङ गरे। अभिनय अनुभव बारे भने,'म जस्तो छु त्यस्तै देख्खिएको छु फिल्ममा। रिसाहा। बरु रोमान्टिक र मुस्कुराउने सिन गर्न धेरै गाह्रो भयो।'
सोमबार फिल्मको डबिङ सक्किएको छ। साउन १६ गतेबाट प्रदर्शनमा आउने फिल्मको बारेमा फिल्म लेेखक तथा निर्देशक रामशरण पाठक भन्छन्,'यो अन्तरदेशिय प्रेम हो। यसले विदेशमा रहेर पनि नेपाली र नेपालप्रती नमरेको भाव प्रस्ट्याउछ।' पाठकले फिल्मको लागि गरेको अध्ययन र मिहेनत फिल्ममा झल्कने प्रस्ट्याए।